बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले जलाए गाडी

मंगलबार, ७ भाद्र २०७९

काठमाडौँ – नेपाल बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले एकाबिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक बन्दकर्ता आगजनी गरेका हुन ।

चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजि सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।

चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटी, आहुती नेतृत्वका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल शुसिल नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आह्वान गरेका हुन् ।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको चार पार्टीका नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।