विवादित राउतलाई चौतर्फी आलोचना पछि राजीनामा दिन दबाब

मंगलबार, ७ भाद्र २०७९

 

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) राजनीतिक समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले राजीनामा मागेका थिए। ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरीद प्रक्रियाका कारण विवादमा तानिएका राउतलाई पदबाट राजीनामा दिन दबाब बढेको छ। राजीनामा मागबारे जसपा प्रवक्ता मनीष सुमनले भने‚ “पार्टी अध्यक्षज्यूले मुख्यमन्त्रीलाई पछिल्लो पटक निकै आलोचना भइरहेको भन्दै राजीनामा दिन सल्लाह दिनुभएको छ।”

संघीय परिषद अध्यक्ष अशोक राई सहित नेताहरूको उपस्थितिमा राउतलाई पार्टी अध्यक्ष यादवले राजीनामा माग गरेका थिए। अध्यक्षले राजीनामा माग गरे पनि मुख्यमन्त्री राउतले आरोप निराधार भएको बताएको बैठकमा सहभागी एक नेताले बताए। ती नेताले भने‚ “अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई तपाईं राजीनामा दिइहाल्नुस्‚ धेरै आरोप छन् तपाईमाथि भन्नुभयो। तर‚ उहाँले आरोपहरू गलत हुन्‚ प्रमाणित भएको छैन‚ मेरो बदनाम गराउने कार्य हुँदैछ भन्दै निस्किनुभयो।”

स्रोतका अनुसार मुख्यमन्त्री राउत अहिले प्रदेश सभाका सांसदहरूलाई फोन गरेर आफ्नो कुरा राख्दै आएका छन्। उनी अध्यक्ष यादवमाथि दवाव बढाउन लागिरहेका छन्। मुख्यमन्त्रीका सचिवालयका अनुसार‚ राउत बुधबार बिहान जनकपुर फर्किने कार्यक्रम छ। मुख्यमन्त्री राउतले भने राजीनामा दिन कुनै निर्देशन नआएको बताए।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरीद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयका केही कर्मचारीहरूमाथि विशेष अदालतमा मुद्दा दर्ता गराएको छ। अख्तियारले मुख्यमन्त्री कार्यालयको विभिन्न योजनाहरूको फाइलको छानबिन अगाडि बढाएको छ।

पहिलो चरणमा भएको १४ हजार साइकल खरीदको कागजात पठाउन अख्तियारले मुख्यमन्त्री कार्यालयलाई गत साउन २० गते पत्र पठाएको थियो। खरीद प्रक्रियादेखि भुक्तानीसम्मको कागजात १० दिनभित्र पठाउन निर्देशन थियो। तर‚ कागजात फेला परेको छैन।