बाहिरी संरचना मात्रै होइन मलनै पुरै अनधिकृत भएको खुलासा

आइतबार, १२ भाद्र २०७९

काठमाडौं— सुन्धारास्थित ‘काठमाडौं मल’ नक्सै पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकाले मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको जनाएको छ ।

भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रूपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरू राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।

काठमाडौं मलको भवन कर्मचारी सञ्चय कोषले आफ्नो जग्गामा व्यावसायिक प्रयोजनका लागि निर्माण गरेको हो । तर, अहिले आएर नक्सा पासबिनै निर्माण गरेको खुल्न आएको छ ।

महानगरपालिकाले पटकपटक सूचना दिएर अभिलेख गराउन अनुरोध गर्दासमेत अटेरी गरेको जनाएको छ । कानुनी हिसाबले मलको संरचनालाई महानगरपालिकाले ‘नचिन्ने’ भन्दै नक्सा पास विवरण ल्याउन पुनः आग्रह गरेको छ । नक्सा पास नभए स्थानीय सरकार सञ्चालन ऐनअनुसार गरिएको व्यवस्थाबमोजिम कारबाही गर्ने पक्षमा महानगर पुगेको छ ।