जोइ–पोइ दुवैलाई टिकट दिने चलनमा रोक लगाउनु पर्छ
काठमाडौं – नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी चुनावमा श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन ।
सांसद लामाले श्रीमान् र श्रीमती दुवै जना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरे। उनले भने, ‘श्रीमानले प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान् समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । श्रीमान्, श्रीमती दुवै सांसद हुँदा पार्टीका अरू कार्यकर्ताले टिकट नपाउने र त्याग, तपस्या गर्नेहरू सधैँ समस्या परिरहने अवस्था छ ।’
सांसद लामाले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई प्रश्न पनि गरे। उनले भने, ‘म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु ।’