सरकारले तीन बुँदे सहमति उल्लंघन गरेर देशलाई युद्धतिर धकेल्यो : विषम

शुक्रबार, १७ भाद्र २०७९

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्ताेष वुढा मगर (विषम)ले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेर देशलाई युद्धतिर धकेलेको बताएका छन्।

सुक्रवार काठमाडौमा राष्ट्रिय वामपन्थी मञ्चको प्रथम भेलाको उद्घाटन गर्दै नेता विषमले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेर देशलाई युद्धतिर धकेलेको बताएका हुन्।

उनले कम्युनिष्टहरुले पनि साम्राज्यवादीहरुको हस्तक्षेप र दमनलाई परास्त पार्दै सर्वहारा श्रमजीवी वर्गको सत्ता ल्याउन चाहेकाले दुई विचार, दुई वर्ग र दुई दृष्टिकोण बीचको टक्कर हुने गरेको ठोकुवा पनि गरे ।

उनले भने “अव साम्राज्यवादका विरुद्ध कम्युनिष्टहरु एक भएर कसरी कम्युनिष्ट सत्ता प्राप्त गर्ने र ? चुरो कुरा यहि हो, जनताको पनि कम्युनिष्ट एक भईदिए हुन्थ्यो भन्ने चाहाना राख्छन । त्यसकारण सवै क्रान्तिकारी कम्युनिष्ट,वामपन्थी शक्तिहरु एकतावद्ध हुन जरुरी छ ।”

उनले  एमसीसी एसपीपी विरुद्धको आन्दोलन र त्यसप्रतिको आत्मसमर्पण गरी कार्यान्वयन गर्न खोज्ने संसदवादी शक्ति संगको टक्कर नेपालको मात्र नभएर साम्राज्यवाद संगको टक्कर भएको दावी गरे । साम्राज्यवादका दलाल भएर संसदवादीहरु सत्तामा आएकाले नेपालका संसदवादी मात्र नभई साम्राज्यवादी एजेण्ड हुन पुगेको आरोप  समेत लगाए ।

सचिवालय सदस्य विषमले सरकारले तीन बुंदे सहमति उल्लंघन गरेर देशलाई युद्धको भड्कालो तिर लिन खोजेको आरोप लगाउदै तीन वुँदे सहमति कार्यान्वय नगरे त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिए ।

आफ्नो पार्टी राजनैतिक समाधान चाहिरहेको भन्दै नेता विषमले भने “हामी कानुनी उपचार नभई राजनीतिक सहमति कार्यान्वय चाहन्छौ , सरकार भने कानुनी उपचार चाहान्छ । यस्तो वेला सरकारले कित सहमति कार्यान्वय गर्छौ भन्नु पर्यो कित गर्दैनौ भन्नु पर्यो । ”

राष्ट्रिय वामपन्थी मञ्चका संयोजक दिर्घ प्रसाद पाण्डेले आफ्नो मञ्चको वारे प्रकाश पार्दै नेपालमा जडसुत्रवाद र व्यवहारवादले कम्युनिष्टहरु लक्ष्यमा पुग्न नसकेको आरोप लगाए ।

उनले नेपालमा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउने शक्ति, कम्युनिष्ट क्रान्तिकारी शक्ति,विभिन्न पार्टी संग आस्था राख्ने र देशको वेथितिवारे विरोध गर्ने शक्तिहरु बीचको एकता जरुरी भएको बताए ।

उनले वामपन्थी मञ्च सवै वाम वुद्धिजीवीहरुको साझा मञ्चको रुपमा विकास गर्न खोजीको प्रष्ट पार्नु भयो । संयोजक पाण्डेले कम्युनिष्टहरु राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको पक्षमा एकतावद्ध हुनुको विकल्प नभएको प्रष्ट्याए  ।

कार्यक्रममा नेकपा माओवादी समाजवादीका केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकालले एमसीसी एसपीपी र नागरिकता विद्येयक जस्ता राष्ट्रघाती सम्झौताहरु सरकारले गरेको आरोप लगाए ।

ऋषि कटेल नेतृत्वको नेकपाका सचिवालय सदस्य अर्जुन कार्कीले वामपन्थी, कम्युनिष्ट सवै शक्तिलाई राष्ट्रिय वामपन्थी मञ्चले समेटन सक्नु पर्ने सुझाव दिए ।

जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले भेला सफलताको शुभकामना दिर्दै नेपालमा संसदीय यथास्थितिवादी धारा र कम्युनिष्ट क्रान्तिकारी धारा बीचको लडाई भइरहेको प्रष्ट पारे ।

उनले सरकारको खवरदारी गर्ने वा विरोध गर्ने शक्तिलाई वामपन्थी भन्ने गरिएपनि नेपालको सन्र्दभमा कम्युनिष्टहरु पनि वामपन्थीमा रहने गरेको वताए ।

भेलाको स्वागत मन्तव्य डाक्टर भगवान चन्द ज्ञवालीले दिर्दै वामपन्थीहरुको एकता अहिलेको आवश्यकता भएको जिकिर गरे ।

राष्ट्रिय वामपन्थी मञ्चका संयोजक पाण्डेको अध्यक्षतामा उद्घाटन भएको भेलाको संचालन सुदर्शन मंगोलले गरेका थिए  । भेलाको वन्द सत्रले नयाँ कार्यसमिति निर्वाचित गर्ने राष्ट्रिय वामपन्थी मञ्चले जनाएको छ ।