आगामी निर्वाचनलाई लिएर ओलीले दिए पार्टी पङ्तिलाई कडा निर्देशन

शनिबार, १८ भाद्र २०७९

काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली हुन नदिन सचेत रहन पार्टी पङ्तिलाई निर्देशन गरेका छन्।

सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन । गठबन्धन सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने उहाँले आशंका व्यक्त गरे । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित हुनुभएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग उठाउँदै अध्यक्ष ओलीले भने “चुनावमा फेरि पनि धाँधली हुनसक्छ, तपाईहरु सचेत रहँदै खवरदारी गर्नुहोला ।”

प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साट्ने बदमासी हुनेगरेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले थपे, “हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन, राष्ट्रसेवको हैसियतमा निष्पक्ष भुमिका खेल्नुपर्छ ।”

आगामी निर्वाचन मंसिर ४ गतेको परिणामपछि एमालेले बहुमतको सरकार बनाउने दाबी उनले गरे । गठबन्धन सरकारका कारण देश आर्थिकरुपमा संकटमा पुगेको उनले आरोप लगाए।

अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रताले हार्नु नहुने बताए। विभिन्न दल त्याग गरेर एमालेमा प्रवेश गर्नेको घुइँचो रहेकाले आगामी निर्वाचनमा एमाले पहिलो दल हुने उनले विश्वास व्यक्त गरे।