गाउँपालिका अध्यक्षद्वारा भान्छेमा नियुक्त गरिएकी श्रीमतीले दिइन् राजिनामा
काठमाडौँ – अछामको रामारोशन गाउँपालिकामा पालिका अध्यक्षद्वारा भान्छेमा नियुक्त गरिएकी श्रीमतीले राजिनामा दिएकी छिन्।
गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेको भन्दै आलोचना हुन थालेपछि पालिकाकी भान्छे जयसरा साउँदले राजीनामा दिएकी हुन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताएका छन्।
‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई अतिरन्जित गरी जनस्तरबाट समेत व्यापक आलोचना भएकोले जयसरा साउँदले राजीनामा दिई स्वीकृतसमेत भएको छ,’ सोमबार प्रशासकीय अधिकृत भण्डारीले जारी गरेको प्रष्टीकरणमा उल्लेख गरिएको छ।
साउँदले भान्छे पदमा रही काम गरेबापत लिएको पारिश्रमिक पनि फिर्ता गरेकी छन्।
३१ हजार छ सय ३० रूपैयाँ साउँदले फिर्ता गर्दै गाउँपालिकाको सञ्चित कोषमा दाखिला गरेको पनि उनले बताएका छन्। अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।