इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छः उपप्रमुख डंगोल

बुधबार, २२ भाद्र २०७९

 

काठमाडौं—काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उनले यस्तो बताएकी हुन् । उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पवए भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन । उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरु आउने क्रम जारी रहने बताइन । उनले कोरोना संक्रमण पुनः बढन थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि बताइन । उनले बोलाइएका पाहुनाहरु र देशवासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताइन ।

उनले भने, ‘यो जात्राको महत्व विविधतायुक्त छ । आजबाट विधिवत इन्द्रजात्रा शुरु भएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो । हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाएका छौँ । भोलिबाट अतिथिहरु आउने क्रम रहनेछ । कोरोनाको केसहरु बढेका कारण हामीले अपेक्षा गरेको भन्दा कम अतिथि आउनुहुनेछ ।’

इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरुले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताए । उनीहरुका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्वहरु उजागर गर्ने योजना रहेको पनि बताए ।

इन्द्रजात्राको लिङगो मानन्धर समुदायले उठाउने गर्छ । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित मठ, मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उदगम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा चोर भनि नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाइने कतिपय प्रचलन छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको भन्ने भनाइ छ । पुराण अनुसार प्राचिन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागेको र त्रिदेवसहित सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरेको साथै इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनिएको उल्लेख पाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । हनुमानढोका दरबारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिङगो ठडयाएपछि इन्द्रजात्राको चहल पहल शुरू हुन्छ ।