प्रतिनिधिसभाका सभामुखद्धारा आयोजित रात्रिभोजमा राष्ट्रिय सभाका अध्यक्ष आखिर किन सामेल नहुने?
काठमाडौं— चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको औपचारिक नेपालयात्रा आगमनको पहिलो दिन अर्थात आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाद्वारा उनको सम्मानमा आयोजित रात्रिभोजमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सामेल नहुने भएका छन्। उनको आगमन नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोकका नियम तथा आचारसंहिताको अस्पष्टताको पहिलो सिकार बनेको छ।
सरकारले बेलायतको महारानी एलिजावेथ द्वितीयको निधनमा तीनदिने राष्ट्रिय शोक घोषित गरेको र शोकका बेला औपचारिक भोजमा सामेल हुनु उचित नभएको भन्दै तिमल्सिनाले त्यसमा उपस्थित नहुने जनाउ सभामुखको कार्यालयलाई दिएका छन्।
तर तिमिल्सिनाकै पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादी लेनिनवादीका नेता तथा पूर्वसभामुख सुभास नेम्वाङ नेपाल(चीन समाजका प्रमुखका हैसियतमा सहआयोजकका रुपमा उक्त भोजमा उपस्थित हुने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड पनि उक्त रात्रिभोजमा उपस्थित हुनेछन्।
राष्ट्रिय शोकको अन्तिम दिन ली चान्सुको चार दिने नेपालभ्रमण सोमबार सुरु भएको हो।