सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको छः देउवा
काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको बताएका छन ।
सोमवार सैनिक मञ्च टुँडिखेलमा ८ औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बता्एका हुन । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, का।मु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए । उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको बताए ।
उनले भेने, ‘अबको हाम्रो गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण हो । सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार गर्नु नै हो । सरकारले स्वास्थ्य पूर्वाधारको बिस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास भइरहेको छ । हामीले सबै समन्वयात्मक प्रयासबाट कोभिड र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौँ भन्ने विश्वास लिएको छु । निर्वाचन लोकतन्त्रको अधारसिला हो । आगामी मंसिर महिनामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गइरहेका छौँ । यसले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्नेछ भने अर्कोतिर संविधानलाई चलायमान बनाउन सहयोग पुग्नेछ । अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध छ । यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु । सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, सम्पन्नता, समृद्धि र एकता नै अबको हाम्रो एकमात्र लक्ष्य हो ।’
संविधान दिवसको अवसरमा प्रधानमन्त्री देउवाले विकास र समृद्धिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि एवं नागरिकहरुलाई आग्रह गरे । उनले संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन, नियमहरु तर्जुमा भइ कार्यान्वयनमा आएको बताए । प्रधानमन्त्री देउवाले सुन्दर, समृद्ध राष्ट्र निर्माण गरेर जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाएर सबै किसिमका राजनीतिक स्वतन्त्रताबाट समतामुलक समाजको निर्माण गर्न सक्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरे । उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै वृहत राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताए ।