निर्वाचन आयोगमा नेताहरुको बेहाल

सोमबार, ३ असोज २०७९

काठमाडौँ – निर्वाचन आयोगमा नेताहरुको बेहाल भएको छ । पानी परेर ताल बनेपछि नेताहरुको बेहाल भएको हो ।

दलहरूले धमाधम निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउँदै गर्दा आयोग परिसर जलमग्न भएपछि बेहाल भएको थियो । समानुपातिक उम्मेदवारतर्फको बन्द सूची पेस गर्ने क्रममा परेको मुसलधारे वर्षापछि बन्द सूचीको कार्यतालिका प्रभावित बनेको थियो ।

बन्द सूचीका लागि रसिद काट्ने समयमा मुसलधारे वर्षा भएपछि सो कार्य रोकिएको हो । त्यसपछि वैकल्पिक व्यवस्थासहित बन्द सूचीको कार्य अघि बढाइएको आयोगले जनाएको छ ।

आयोग परिसरमा पानी जमेर ताल बनेपछि आउजाउमा समस्या भएको छ ।

साढे ४ बजेसम्म नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत ३० दलले आगामी संघ र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाई सकेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमाले लगायतले बन्द सूची बुझाउन बाँकी छँदा वर्षाले अप्ठेरो पारेको हो ।