शेखर समूहको कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना

बुधबार, १२ असोज २०७९

काठमाडौँ— ‘न्याय र समान अवसर’ का लागि खबरदारी अभियानमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ ।

समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरू धर्ना कार्यक्रममा सहभागी थिए ।

समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका छन् । मंगलबार बसेको पदाधिकारी बैठकमा देउवाले सबैलाई समेटेर जान आफू तयार रहेको भन्दै बन्द सूची सच्याउन सकिने बताएका थिए ।