अन्ततः सभामुख सापकोटाले आफ्ना कमजोरीहरू स्विकारे
काठमाडौं— प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमजोरीहरू रहेको स्वीकार गरेका छन् । रचनात्मक र सिर्जनात्मक ढंगले आफ्नै क्षमताको समेत भरपूर उपयोग गरेर गुणस्तरीय कानुन निर्माण गर्न नसकिएको उनले बताए ।
सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गुणस्तरीय कानुन निर्माणका लागि आफूले प्रयत्न गरे पनि त्यसानुसारको वातावरण बन्न नसकेको गुनासो गरे ।
पछिल्ला दिनहरूमा भने गुणस्तरीय कानुन निर्माणका लागि आफूले बिहान १० बजेदेखि सुरु गरिएको बैठक राति १० बजेसम्म सञ्चालन गरेको उनको भनाइ थियो ।
उनले पछिल्लो बजेट अधिवेशनबाट ३२ कानुन पारित भए पनि कानुन निर्माणको काममा कमजोरीहरू रहेको उल्लेख गरे ।
“गुणस्तरीय कानुन निर्माण गर्ने कुरामा हाम्रो मिहिनेत पनि कम छ । हामीले गुणस्तरीय कानुन निर्माण गर्ने कुरालाई गहिरो गरी आत्मासात् गर्न सकेका छैनौँ । प्रयत्न गरेको हो । मेरो हकमा पनि त्यो लागु हुन्छ कि रचनात्मक र सिर्जनात्मक काम गर्ने मेरो आफ्नै क्षमताको पनि परख गर्ने वातावरण बनेन । अन्तिम अन्तिममा आइसकेपछि मात्रै बल गर्नुपर्छ भन्ने भयो,” उनले भने, “राज्यले कर तिरेको छ । राज्यको करबाट हामीले तलब खाइरहेका छौँ । हिजो काम गर्ने वातावरण बनेन । अहिलेको बनेको छ । त्यसको पनि क्षतिपूर्ति गर्नुपर्छ भनेर हामीले बिहान ११ बजे सुरु भएको बैठक बेलुका १० बजेसम्म सञ्चालन गर्यौँ । र, अन्तिममा बजेट अधिवेशनमा ३२ वटा कानुनहरू पारित भएका छन् । जे भए पनि कानुन निर्माणमा कमीहरू रहे ।”
सभामुख सापकोटाले विचार र प्रविधिलाई जोडेर अघि बढ्दा मात्र मुलुकको हित हुने पटक–पटक दोहोर्याए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको बलियो सहकार्यमा मात्र सूचनाको हकसम्बन्धी अधिकारलाई कार्यान्वयनमा लैजान सकिने स्पष्ट पारे ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगले पटक–पटक सचेत गराउँदा पनि सूचनाको हकसम्बन्धी कानुन संशोधन गर्ने काम नभएको भन्दै गुनासो गरे । उनले सूचनाको हक पालना गर्ने र गराउने सबैभन्दा ठूलो दायित्व सरकार र सार्वजनिक निकायहरूको भएको स्मरण गराए ।
सूचना लिन पाउने गरी अधिकारीहरूको आवश्यक व्यवस्था मिलाउन पनि उनले सबै सार्वजनिक निकायहरूलाई पुनः सचेत गराए ।