बल्ल तात्यो राप्रपा, आजै चाल्यो बोल्ड कदम

शुक्रबार, २१ असोज २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बल्ल तातेको छ । आगामी निर्वाचनका लागि मनोनयन गर्दा गर्ने दिन नजिकिदै गएपछि राप्रपा तातेको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन एमालेसँग चुनावि गठबन्धन बनाउने भन्दै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार बालकोट जाने नेताहरूमा लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ छन् । ‘चुनावमा कसरी मिलेर सहकार्य गर्न सकिन्छ भन्नेबारे नै आजको बैठक तय भएको हो,’ श्रेष्ठले बताए ।

पार्टीका अर्का नेता रवीन्द्र मिश्र भने आजको बैठकमा सहभागी छैनन् । यसअघि एमाले र राप्रपाबीच एमाले उम्मेदवार उठेको ठाउँमा राप्रपाले र राप्रपा उम्मेदवार उठेका ठाउँमा एमालेले सहयोग गर्नेगरी अनौपचारिक समझदारी भइसकेको थियो ।