चार जना मन्त्रीलाई हटाउने प्रधानमन्त्री देउवाको तयारी

शनिबार, २२ असोज २०७९

काठमाडौँ – आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि चार जना मन्त्रीको पद धरापमा परेको छ ।

सत्ता गठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग जसपाले चुनावी तालमेल गरेपछि संघिय सरकारमा रहेका चार मन्त्रीको पद धरापमा पर्ने देखिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको जिम्मेवारी खोस्ने तयारी गरेका छन् ।

एक मन्त्रीका अनुसार जसपा विपक्षी दलसँग चुनावी गठबन्धन गरेपनि यसका चार जना मन्त्रीको जिम्मेवारी खोसिने छ । ०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए ।

अहिले पनि सोही परिस्थिति आएको ती मन्त्रीको भनाइ छ । निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन । निर्वाचन आयोगका सह–प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने नमिल्ने बताए ।