मिनेन्द्र रिजालसँग लामो समयपछि देउवाले लिए बदला
विराटनगर – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग प्रधानमन्त्री तथा कांग्रस सभापति शरबहादुर देउवाले बर्षौ पछि बदला लिएका छन् । पार्टीको आन्तरिक समिकरण मिलाउन आफ्नै क्याविनेटमा राख्न बाध्य भएका देउवाले अन्ततः बर्षौ पछि बदला लिएका हुन् ।
शेखर कोइराला समूहमा रहेका रिजाललाई देउवाले यो पटक प्रतिनिधिसभाको टिकट नदिएर बदला लिएका हुन् । उनको ठाउँमा देउवाले नेतृ सुजाता कोइरालालाई मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिए हुन् ।
कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो । शनिबार अबेर राति पार्टीले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले कोइरालाले प्रतिनिधिसभा सदस्यको टिकट पाइसकेको बताए । २०७४ सालमा डाक्टर रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ ।
केही बर्ष अघिसम्म देउवा गुटमा रहेका रिजाल ‘जोसमा होस् गुमाएपछि’ देउवाको सांस्कृतिक कारवाहीमा परेका थिए । देउवाले कारवाही गरेपछि तत्कालिन अवस्थामा गुट परिवर्तन गर्दै सुशिल कोइरालाको शरणमा पुगेका थिए । कोइरालाले रिजाललाई उपहारको रुपमा पहिलो पटक मन्त्री पद बक्सिस् दिएका थिए । देउवाले अहिले त्यसको बदला लिएका हुन् ।
संसदीय राजनीतिमा विश्वास गर्ने रिजाल ५ बर्ष संसद बाहिर थन्किने छन् । पार्टीको महामन्त्रीमा समेत पराजित भएका रिजाल एपेक्स स्कुलका संचालकसमेत हुन् । अब उनी स्कुल चलाएर बस्ने सम्भावना छ । चुच्चे नक्सा जारी गर्दा भारतीय मिडियामा चर्को राष्ट्रवादको कुरा गर्दै जनताको सेन्टिमेन्ट बटुलेकाले पनि भारतको डिजाइनमा रिजालले टिकट नपाएको विश्लेषण भइरहेको छ ।