एमालेबाट टिकट पाएका दुई नेताले चुनाव लड्न मानेनन्
काठमाडौं – नेकपा एमालेबाट टिकट नपाएपछि स्थायी कमिटी सदस्य घनश्याम भूसालले पार्टी परित्याग गरे । पूर्वउपाध्यक्ष डा. भीम रावलले टिकट नपाउँदा अछाममा नेकपा एमाले लगभग खाली भएको छ । त्यसको ठिक विपरित टिकट पाएका दुई जना नेताहरुले चुनाव नलड्ने घोषणा गरेका छन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चुनाव लड्न अस्वीकार गरेका हुन् । बादलले काठमाडौं क्षेत्र नम्बर १० बाट टिकट पाएका थिए भने शाक्यले काठमाडौँ क्षेत्र नम्बर ८ बाट टिकट पाएकी थिइन् ।
अध्यक्ष केपी शर्मा ओलीको आग्रह गर्दा समेत यी दुबै जनाले अर्को विकल्प खोज्न उल्टै आग्रह गरेका थिए । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरु अर्को उम्मेदवारबारे छलफल गरिरहेका छन् ।
यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए ।