जब गगन थापाको टिकट खोसियो…!
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको टिकट नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले खोसेको पाइएको छ । देउवाले थापाको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेस केन्द्रीय सदस्य नैनंिसह महरलाई टिकट दिएर थापाको टिकट खोसिएको पाइएको हो ।
महामन्त्री थापाको नाम भने काठमाडौं ४ सँगै सर्लाही ४ बाट सर्वसम्मत सिफारिस भएको थियो । उनले कहाँबाट चुनाव लड्ने भन्ने निर्णय नदिएका कारण देउवाले महरलाई टिकट दिएका हुन् ।
आज विहान सभापति शेरबहादुर देउवाले महरलाई बोलाएर काठमाडौं ४ को टिकट दिएका थिए । महरले भने, ‘टिकटका लागि विहान मुख्य सचिव र पार्टी सभापतिले बोलाएर बालुवाटार गएको हुँ । टिकट पनि दिनुभयो । तर अहिले आएर खोसियो ।’
आइतबार विहान उनले आफू काठमाडौं ४ बाटै उठ्ने बताएपछि नैनसिंहको टिकट उल्टै गगनले खोसेका छन । दुई पटक चुनाव जितेका गगन नै उम्मेदवार बने । गगनले अर्थविद स्वर्णिम वाग्लेका लागि काठमाडौँ ४ छोड्न तयार भएको बताएका थिए । तर वाग्ले टिकट नपाउँदा गगन पुरानै क्षेत्रमा फर्किन बाध्य भएका हुन् ।
त्यसपछि देउवा निकट नैनसिंहलाई काठमाडौं ३ मा उम्मेदवार बनाउने छलफल भएको थियो । तर यहाँ पनि सन्तोष चालिसेलाई उम्मेदवार बनाइएको छ । महरको नाम भने कैलाली ४ बाट सिफारिस भएको थियो ।
