स्थानीय जनप्रतिनिधिले पार्टीको चुनाव प्रचार गर्न पाउँछन् ?
काठमाडौं – आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई व्यवस्थीत, मर्यादित र निर्वाचन आगासंहिता पालना भए नभएको जानकारी दिन निर्वाचन आयोगले टोल फ्रि नम्बर ११०२ सुरु गरेको छ ।
आयोगले सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टमा आम मतदाताबाट अनेक प्रकारका जिज्ञासा आउने गरेका छन् । उक्त जिज्ञासाहरुको आयोगले कल सेन्टरमार्फत जवाफ दिइ रहेको छ ।
गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो सेन्टर सेवामा यही कात्तिक ८ गतेसम्ममा आएका कूल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ । सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले दलको चुनाव प्रचारप्रसार गर्न पाउँछन् कि पाउँदैनन् ? भन्ने प्रश्नमा ‘आफू निर्वाचित भएको पालिकाबाहेक अन्यत्र पाउँछन् तर त्यसरी अन्य पालिकामा प्रचारप्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न निर्वाचन आचारसंहिता, २०७९ ले रोक लगाएको’ जवाफ दिइएको छ ।