मौसममा सुधार हुँदै, आज के पानी पर्ला त ?
माघ २७, काठमाडौँ – केही दिनदेखि बदली तथा वर्षाको अवस्थामा रहेको मौसममा सुधार आउन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसममा सुधार हुन थालेको भए पनि पूर्ण रुपमा सफा हुने सम्भावना भने नरहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । पश्चिमका अधिकांश क्षेत्रमा आइतबार पनि मौसम आंशिक बदलीको अवस्थामा रहने छ । पश्चिमका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ ।
काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा बिहानैदेखि मौसम खुलेको देखिएको छ । दिनभर सामान्यतया सफा रहने आंकलन गरिए पनि पूर्ण रुपमा सफा हुने भने समय लाग्ने छ ।
यसैगरी पश्चिमी वायुको प्रभाव कम भएकाले पूर्वको मौसम पनि आइतबार सामान्यतया सफा रहने देखिएको मौसमविद श्रेष्ठले जानकारी दिएका छन् ।
तर मौसम बदली गराउने अर्को प्रणाली नेपाल नजिक आएकाले केही दिनमा फेरि मौसममा खराबी आउने सम्भावना छ ।