प्रतिनिधिसभामा एमालेले १६ सिट मात्र जित्ने आँकलन, यी हुन् चुनाव जित्ने सम्भावित उम्मेदवार

शनिबार, १२ कार्तिक २०७९

काठमाडौँ – आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यो निर्वाचन दुईवटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धन चुनावमा होमिदा संसदको पहिलो दल नेकपा एमालेको अवस्था कस्तो रहला ? स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमाले १६ सिटमा अगाडि छ ।

एमालेले राप्रपा, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस विपी लगायतका पार्टीसँग गरेको गठबन्धनका आधारमा एमाले १६ सिटमा अगाडि देखिएको हो । पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको कांग्रेस स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा ९१ मध्ये ७५ सिटमा अगाडि छ । ४५ क्षेत्रमा गठबन्धनबाट उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रका लागि ३९ क्षेत्रमा अगाडि छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट गठबन्धनका साझा उम्मेदवार बनेका १८ जना नै ‘ग्रीन जोन’मा छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट ७ जना सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । ती मध्ये लोसपाका ६ जना उम्मेदवार सुरक्षित देखिन्छन् भने राष्ट्रिय जनमोर्चाका दुबै जना उम्मेदवार पनि ‘ग्रीन जोन’मा छन् ।

ताप्लेजुङमा एमालेका योगेश भट्टराई र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेदवारले २४ हजार २९५ मत पाएका थिए । त्यसैगरी कांग्रेसले १८ हजार २८४, माओवादी केन्द्रले ४ हजार ४९७, नेकपा एकीकृत समाजवादीले एक हजार ३०८ र जसपाले ९२३ मत पाएको थियो । बुढाथोकीभन्दा भट्टराई २०६ मतले अगाडि छन् ।

धनकुटामा कांग्रेसका सुनिल थापा र एमालेका राजेन्द्र राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ सत्ता गठबन्धनको तुलनामा एमाले–जसपा गठबन्धन बलियो रहेको स्थानीय तहको मत परिणामले देखाउँछ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अनुसार यहाँ एमालेको ३६ हजार ३३६, कांग्रेसको २८ हजार १८२, माओवादीको ५ हजार ४५८, जसपाको २ हजार २९३, नेकपा एकीकृत समाजवादीको एक हजार ७२८ र राप्रपाको ३०४ मत छ । यस आधारमा कांग्रेसका उम्मेदवार थापाभन्दा एमाले उम्मेदवार राई ३ हजार २६१ मतले अघि छन् । स्थानीय निर्वाचनमा ३०४ मत पाएको राप्रपाले पनि यहाँ उम्मेदवारी दिएको छ ।

झापा–१ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राप्रपाको ५ हजार ९२२, माओवादीको ३ हजार ९०५, नेकपा एकीकृत समाजवादीको एक हजार २५२ र लोसपाको १६२ मत छ । जसका आधारमा ७ हजार ७७६ मतले खरेलभन्दा शर्मा पछाडि देखिन्छन् । यहाँ राप्रपा र एमालेबीच तालमेल भएको छ ।

झापा–२ मा माओवादीका हरिकुमार रानामगर र एमालेका देवराज घिमेरेबीच प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ स्थानीय तह निर्वाचन अनुसार एमालेको ३६ हजार ३९६, कांग्रेसको ३२ हजार ६७२, राप्रपाको ९ हजार ५३१, माओवादीको २ हजार ४३७, जसपाको ५०६ र एकीकृत समाजवादीको १७३ मत छ । राप्रपाको साथ पाएका घिमिरे १० हजार ६४५ मतले अगाडि हुने देखिन्छन् ।

झापा–४ मा कांग्रेसका देउकुमार थेबेविरुद्ध एमालेले एलपी साँवालाई अगाडि सारेको छ । यहाँ एमालेको ३१ हजार २७२, कांग्रेसको २८ हजार १६५, माओवादीको ६ हजार ३८२, राप्रपाको ४ हजार ५५६, नेकपा एकीकृत समाजवादीको ७०२, लोसपाको २४८ र जसपाको ११० मत छ । यहाँ थेवेभन्दा साँवा १९७ मतान्तरले अघि छन् ।

झापा–५ मा एमालेका केपी शर्मा ओलीको प्रतिस्पर्धीका रुपमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी चुनावी मैदानमा छन् । यहाँ एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीको एक हजार ९८८ मत छ । यस आधारमा ओली १५ हजार १७४ मतले अघि देखिन्छन् । झापामा एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।

सुनसरी–२ मा कांग्रेसका सिताराम मेहता र एमालेका भीम आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको ३७ हजार ७३७, एमालेको ३६ हजार ४७२, जसपाको ७ हजार ८५५, माओवादीको ३ हजार २५०, राप्रपाको ३ हजार ११०, नेकपा एकीकृत समाजवादीको २ हजार ११९ मत छ । त्यसैले मेहताभन्दा आचार्य एक हजार २२१ मतले अघि देखिन्छन् ।

सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३५ हजार ५३, कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हजार ५१६, माओवादीको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१ र नेकपा एकीकृत समाजवादीको ६२६ मत छ ।

यस आधारमा एमाले उम्मेदवार चौधरीभन्दा कांग्रेसका गच्छदार २ हजार ५८२ मतले पछि छन् । यहाँ राप्रपा एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

सिरहा–३ मा माओवादीका विश्वनाथ साह र एमालेका लीलानाथ श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत केलाउँदा एमालेको २० हजार ३२८ मत पाएर पहिलो दल बनेको पाइन्छ ।

यस्तै कांग्रेसको १८ हजार २६, जसपाको १४ हजार ८९३, माओवादी केन्द्रको ९ हजार ४८१, एकीकृत समाजवादीको ६ हजार २७४, जनमत पार्टीको एक हजार ५७७, राप्रपाको ९५४ र लोसपाको २५८ मत छ । जसपाको साथ पाएका श्रेष्ठ ११८२ मतले अगाडि देखिन्छन् ।

काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । स्थानीय तहको निर्वाचनका आधारमा यहाँ एमालेको १९ हजार ७०३, कांग्रेसको १४ हजार ८५३, राप्रपाको २ हजार ८२२, नेकपा एकीकृत समाजवादीको एक हजार ८२७, माओवादीको एक हजार १६८ र जसपाको ५८ मत छ । उक्त मत अनुसार पौडेलभन्दा पोखरेल एक हजार ८५५ मतले अघि देखिन्छन् ।

चितवन–२ मा कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा एमालेको ३५ हजार ५४३, कांग्रेसको २४ हजार ५३१, माओवादीको ७ हजार ३७४, नेकपा एकीकृत समाजवादीको ३ हजार ५६९, राप्रपाको २ हजार ११३ र जसपाको ५८ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धनको तुलनामा एमाले ६९ मतले अगाडि देखिन्छ ।

मनाङमा कांग्रेसका टेकप्रसाद गुरुङ र एमालेका पाल्तेन छापेन गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ एमालेको एक हजार २५८ र कांग्रेसको एक हजार २२० मत छ । जसका आधारमा एमालेका गुरुङ ३८ मतले अघि देखिन्छन् ।

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र एमालेका प्रेम तुलाचनबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यहाँ एमालेको ३ हजार १२८, कांग्रेसको २ हजार ७४२ र राप्रपाको १८ मत छ । यहाँ कांग्रेसको तुलनामा एमाले ३८७ मतले अघि छ ।

नवलपुर–२ मा कांग्रेसका विष्णु कुमार कार्की र एमालेका तिलक महतबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ४१ हजार ७९८, कांग्रेसको ३८ हजार ६१९, राप्रपाको २ हजार ३५५, माओवादीको एक हजार ७४२, जसपाको ३०३ र नेकपा एकीकृत समाजवादीको २१४ मत छ । यस आधारमा कार्कीभन्दा महत एक हजार २२३ मतले अघि देखिन्छन् ।

पाल्पा–१ मा कांग्रेसका ज्ञानबहादुर गाहा र एमालेका नारायणप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३४ हजार ७७१, कांग्रेसको २७ हजार १५०, माओवादीको एक हजार १६४ र राप्रपाको २२३ मत छ । जसका आधारमा गाहाभन्दा आचार्य ६ हजार ४५७ मतले अघि देखिन्छन् ।

रुपन्देही–१ मा एमालेका छविलाल विश्वकर्मा र स्वतन्त्र उम्मेदवार घनश्याम भुसालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका भुसाललाई सत्ता गठबन्धनको समर्थन छ भने विश्वकर्माको साथमा राप्रपा र जसपा उभिएका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत अनुसार कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, एकीकृत समाजवादीको एक २४३ र लोसपा ३२५ मत छ । भुसालभन्दा विश्वकर्मा १२ हजार ८७२ मतले अगाडि छन् ।