राजीनामा दिएपछि फर्किनसक्छ तोसिमाको उम्मेदवारी

सोमबार, १४ कार्तिक २०७९

काठमाडौं – ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले शनिबार नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्य रहेर लाभको पद लिएको भन्दै कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

डा. तोसिमाले भने आफ्नो उम्मेदवारी खारेजीलाई गैरकानूनी भनेकी छन् । निर्वाचन आयोगको यो निर्णय बदर हुनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेकी छन् । आज विहान ११ बजे आयोगको निर्णयविरुद्ध अदालतमा आफूले रिट निवेदन दर्ता गराउने उनले जानकारी दिएकी छन् ।

मेडिकल काउन्सिल चिकित्सकहरुको पेशागत काम कारवाही नियमन गर्ने स्वायत्त र अर्धन्यायिक निकाय हो । उनी २ पुस २०७८ मा मेडिकल काउन्सिलको कार्यकारी सदस्यमा निर्वाचित भएकी थिइन् । प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने भएपछि उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षाको अध्यापकबाट राजीनामा दिए पनि काउन्सिलको कार्यकारी सदस्यमा बहाल छिन् ।

आयोगले काउन्सिलको कार्यकारी सदस्य लाभको पद भएको र त्यसमा कायमै रहेर उम्मेदवार हुन नसक्ने ठहर गरेको छ । तोसिमाले आफू काउन्सिलको सदस्य भई काम गरेको, बैठकभत्ता बाहेक अरु सुविधा नलिएकाले लाभको पद हो कि होइन भन्ने निर्क्यौल गरिदिन आयोग समक्ष निवेदन दिएकी थिइन् । तर आयोगले कुनै जवाफ दिएन ।

‘निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. तोसिमा कार्कीले भत्ता बुझेको पाइयो’, आयोगको निर्णयमा भनिएको छ, ‘आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरी डा. कार्कीले नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकाले निजले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन । निज डा. कार्कीको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ ।’

आयोगले समयमै निर्णय नदिएर अहिले उम्मेदवारी रद्द गर्नु गलत भएको डा. तोसिमाको टिप्पणी छ । यदी उनको दाविलाई नै आधार मानेर सर्वोच्च अदालतमा उजुरी दिने हो भने काउन्सिलको पदबाट कार्कीले राजीनामा दिन पर्नेछ ।

उनले आफूले लाभको पद हो वा होइन भनेर जानकारी माग्दा आयोगले जवाफ नदिएको विषयलाई लिएर मुद्धा दायर गर्दा अदालतले उम्मेदवारी सदर गरिदिन सक्ने सम्भावना रहन्छ । कार्कीले यसको जवाफ पहिलानै आएको भए आफूले राजीनामा गर्न सक्ने जिकिर गर्दै अहिले राजीनामा दिए उनको उम्मेदवारी सदर हुनसक्ने एक विद्यान अधिवक्ताको भनाई छ ।

तर निर्वाचन आयोगले भने कोही व्यक्तिलाई उम्मेदवार बन्न योग्यता बनाइदिने काम आयोगको नभएको जवाफदिएका छ । निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले उम्मेदवारी नदिँदासम्म कुनै पनि व्यक्तिको योग्यताबारे आयोगले निर्क्यौल गरिदिन नमिल्ने भएकाले डा. तोसिमाको निवेदनको प्रतिउत्तर नदिइएको बताए ।

‘अब कोही व्यक्तिले म उम्मेदवार हुँदैछु, मेरो योग्यता पुग्छ कि पुग्दैन हेरिदिनुपर्‍यो भनेर आएका भरमा आयोगले उसको योग्यताको प्रमाणपत्र दिएर पठाउँदैन’ सहायक प्रवक्ता एवं उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले भने, ‘आयोगले उम्मेदवारी नपर्दै कुनै पनि व्यक्तिको योग्यताबारे अनुमानका भरमा निर्क्यौल गर्न सक्दैन ।’

उपन्यायाधिवक्ता वाग्लेको भनाइमा उम्मेदवारको योग्यतामाथि निर्वाचित भइसकेपछि पनि उजुरी पर्नसक्छ र त्यसका आधारमा छानबिन गर्ने निकाय समेत फरकफरक हुन्छन् ।