स्थानीय निर्वाचन अनुसार महेन्द्रबहादुर शाही २१ हजार १ सय २२ मतले अगाडि

बुधबार, १६ कार्तिक २०७९

काठमाडौँ – आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा देशभर मुलत दुईवटा गठबन्धन चुनावी मैदानमा छन् । कर्णाली प्रदेशको कालिकोटमा पनि सत्तारुढ वामलोकतान्त्रीक गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ ।

कालिकोटमा सत्तारुढ वामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शाही चुनावि प्रतिस्पर्धामा छन् भने एमालेको तर्फबाट केन्द्रीय सदस्य नेशनल शाही मैदानमा छन् । राप्रपाबाट धनबहादुर बुढा, नेमकिपाबाट खड्गराज शाही, नेपाली कांग्रेस (वि.पी)बाट पँखबहादुर विष्ट, माओवादी केन्द्रबाट स्वतन्त्र रुपमा वागी उठेका काँशीचन्द्र बराल र धनप्रसाद पाण्डे चुनावि प्रतिस्पर्धामा छन् ।

कालिकोटमा मुख्यतया त्रिपक्षीय भिडण्त हुने भएपनि पछिल्लो समय प्रतिस्पर्धाको दायरा साँघुरिदै गएको छ । माओवादी केन्द्रका शाही, माओवादीका वागी बराल र नेकपा एमालेका शाहीबीच प्रतिस्पर्धा हुने विश्लेषण गरिएको भएपनि नेकपा माओवादी केन्द्र सुक्ष्मरुपमा चुनावि प्रचारमा केन्द्रीत भएपछि प्रतिस्पर्धाको दायरा सांघुरिएको हो । माओवादी केन्द्रले स्थानीय तहमा पाएको मत कुनैपनि हालतमा घट्न नदिनेगरी आफ्नो चुनावि गतिविधिलाई केन्द्रीत गरेको छ ।

उसले स्थानीय तहको निर्वाचनमा पाएको मतभन्दा १ कम भएपनि त्यसको जिम्मेवारी वडा कमिटी हुनेभन्दै सर्कुलर गरेपछि चुनावि माहोल अन्तै मोडिएको हो । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले ९ मध्ये ६ (स्वतन्त्र निर्वाचित भएका एक उम्मेदवार पछि माओवादी प्रबेश) पालिका र ८१ मध्ये ४६ वडामा जित हाँसिल गर्दै जिल्लाभर पहिलो भएको थियो । माओवादीको गोलाकारभित्रको हंसिया हतौडा चुनाव चिन्हले वडागत रुपमा १८ हजार १ सय ६ मत प्राप्त गरेको थियो ।

त्यस्तै, स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडागत मतको आधारमा दोश्रो भएको थियो । नेकपा एमालेले कुनै पनि पालिकाको प्रमुखमा जित हात पार्न सकेको थिएन भने जिल्लाभर जम्मा १० वडामा जित हात पारेको थियो । १० वडा जित्दा एमालेले जिल्लाभर १२ हजार ७ सय ४६ मत पाएको थियो ।

स्थानीय तहमा तेश्रो शक्ति बनेको नेपाली कांग्रेसले दुईवटा पालिकासहित १६ वडामा जितको खम्बा गाडेको थियो । कांग्रेसले वडागत रुपमा १२ हजार ६ सय १४ मत प्राप्त गर्दै सिटको आधारमा दोश्रो र मतका आधारमा तेश्रो शक्ति भएको थियो । यता एकीकृत समाजवादी पार्टी जिल्लाभर ४ वडामा विजयी हुँदा नेमकीपाले ३ वडामा जित निकालेको थियो । २ वडामा स्वतन्त्र निर्वाचित भएका थिए ।

समग्र गठबन्धनले जिल्लाभर ६६ वडामा जित हात पार्दा ३४ हजार २ सय ८ मत प्राप्त गरेको थियो । एमाले र स्वतन्त्रसहित अन्य दलले १५ वडामा जित निकाल्दा १३ हजार ८७ मत प्राप्त भएको थियो । यसरी हेर्दा गठबन्धनका उम्मेदवार शाही २१ हजार १ सय २२ मतले अगाडि देखिएका छन् । यो मत कायम राख्नसके शाही प्रतिशतका आधारमा देशभर सबैभन्दा बढी मतान्तरसहित विजयी हुने उम्मेदवारको परिचय बनाउने छन् ।