जनतालाई कतिञ्जेल अपत्यारिलो आश्वासन दिइरहन्छौ, ओली वा ?
काठमाडौं– बुढापाकाले भन्थे,‘जसले पनि बलेको आगो ताप्ने हो । निभेको आगो कसले ताप्छ ?’ आगामी मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हालत पनि त्यस्तै हुन्छ । अहिले जताततै बहसको विषय बनेको छ, एमाले । चुनावपछि एमाले सांसद्मा चौथो दल हुने अनुमान लगाउन थालिएको छ । विगतमा जुन काम एमालेले गरेको छ, त्यसपछि एमाले चौथो दल हुनु स्वाभाविक पनि हो ।
यसअघि जितेका धेरै ठाँउ एमालेले गुमाउने निश्चित छ । योचोटिको चुनावमा ओलीले व्यापारी, कलाकार, सरकारी पदका ठूल्ठूला हाकिमहरुलाई टिकट दिएका छन् । पार्टीमा २० औं वर्ष काम गरेका नेताहरुलाई उनले छुट्याए । जसले पार्टीले पोस्न सक्छ र ओलीको गुलामी गर्छ त्यसलाई टिकट दिने काम भयो । जसको कारण पार्टीका अलिक राम्रा भनिएका नेताहरुले नै एमाले परित्याग गरेका छन् ।
नेपाल प्रहरीमा लामो समय बिताएका सविन्द्र खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट टिकट पाए । एक महिनाअघि पार्टी प्रवेश गरेका उनले टिकट पाएका कुरा आश्चर्यजनक थियो । पार्टीमा केही योगदान नै नगरेका, केही हैसियत नै नभएका व्यक्तिले कसरी टिकट पाए ? यता, कलाकार कोमल वलीले पनि दाङ क्षेत्र नम्बर ३ बाट टिकट पाइन् । पार्टीका राम्रा नेता निस्किएर हिँड्नुपर्यो, नाँच्ने र गाँउनेले टिकट पाइन् ।
एमालेको टिकट वितरणमा भेदभाव भएको छ । पैसा हुने र आफ्ना नजिकलाई ओलीले भकाभक टिकट दिए । यस्तै, प्रवृत्तिको कारण अबको निर्वाचनमा एमाले नराम्ररी बजारिन्छ भनेर सबैले थाहा पाइसकेका छन् । योचोटिको चुनावमा एमाले पाँचदेखि सात सीटमा सीमित हुने चर्चा व्यापक रुपमा चलेको छ । तीन सीट भन्नेहरु पनि यहाँ छन् । हामीलाई सहयोग गरिदिनुपर्यो भनेर एमालेका नेताहरु धमाधम मिडिया हाउस धाँउदै छन् ।
आफूलाई सहयोग गर्नुपर्यो भनेर एमालेका उम्मेदवारहरु सञ्चारकर्मीलाई अपिल गरिरहेका छन् । ओली सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया विद्येयक सदनमा ल्याएका थिए । समाचार लेखेबापत पत्रकारलाई जेल सजाय र जरिवाना गर्नुपर्छ भन्ने पनि यी दुई जना नै हुन् । बुढापाकाले भन्थे,‘फालेको ढुंगा त कहिलेकाली काम लाग्छ, भने मान्छे त जतिखेर पनि आवश्यकता पर्छ ।’
तर, हिजो यो कुरा उनीहरुले बुझेनन् । भोलिका दिनमा आफूलाई पनि पत्रकार र मिडियाको खाँचो पर्छ भनेर यिनीहरुले सोचेनन् । जसरी हुन्छ मिडिया र पत्रकार सिद्धाउन तम्सिए । त्यही पत्रकारको आवश्यकता आज एमालेका उम्मेदवारलाई परेको छ । हिजो सत्तामा हुनुञ्जेल त एमालेले जमिन देखेन् । सम्भव नै नभएपनि आकाशमा उड्न खोजे अन्तिममा नराम्ररी बजारिए ।
अहिले मिडियालाई भर्याङ बनाएर चुनाव जित्न खोज्दैछन् । मौका दोहोर्याइ तेहेर्याइ आँउदैन् । एकचोटिका लागि जनताले एमालेलाई मौका दिए । देशभरका जनताले एमालेलाई पहिलो पार्टी बनाए । रुखका पातहरुले समेत एमालेलाई चुन्नुपर्छ भनेर इशारा दियो । तर, अहिले त्यही रुखका पातहरु एमालेको विरोधमा उभिएको छ । एमालेलाई भोट दियो भने देश सखाप हुन्छ भनेर सबैले बुझिसकेका छन् ।
हिजो पहिलो पार्टी बनेको एमाले यति छिटो कमजोर बन्छ भनेर सायदै कसैले सोचेका थिए, होलान् । एमाले पार्टी होइन्, ओलीको निजी कम्पनी हो । यो पार्टीमा नेता होइनन्, गुण्डा मात्रै छन् । जनता र राष्ट्रको हितमा काम गर्ने कुन नेता छन्, एमालेमा ? सिन्धुपाल्चोकबाट शेरबहादुर तामाङ, काभ्रेबाट गोकुल बाँस्कोटा, भक्तपुरबाट महेश बस्नेत, झापाबाट केपी शर्मा ओली, काठमाडौंबाट ईश्वर पोखरेल, दाङबाट शंकर पोखरेल, बुटवलबाट विष्णु पौडेल, ताप्लेजुङबाट योगेश भट्टराई धेरै मतान्तरले पराजय हुँदैछन् ।
यिनीहरुको हार निश्चित छ । यो कुरा त एमालेका नेताहरुले स्वीकारिसकेका छन् । हिजो एमालेलाई भोट दिएका जनताहरु आज अन्य पार्टीलाई भोट दिन तयार भएका छन् । ओली आउने कार्यक्रममा सय, डेढ एमालेकै कार्यकर्ता जम्मा हुन्छन् । कहाँ गएर कुन कुरा खुस्काउछन् ? भनेर मिडिया पनि त्यहाँ पुग्छन् । २०७४ सालमा एमाले कोशी थियो, अहिले सुकेर खोल्चो बनिसकेको छ ।
हिजो ओलीको भाषण सुन्न लाखौं जनता जम्मा हुन्थे । अहिले मुश्किलले सय, डेढ सय जम्मा हुन्छन् । अगाडिपछाडि पुरै सुरक्षाकर्मीले ढाकेर हिँड्ने ओलीले किन जनता घटे ? भनेर सोचेका छैनन् । सय, डेढ सय जम्मा हुँदा पनि उनी मख्ख छन् । हिजो मेरो भाषण सुन्न लाखौं जनता आँउथे, अहिले किन घटे ? ओलीले विचार गर्नुपर्ने हो । कि त सयलाई पनि लाख देखेको हुनुपर्यो ।
ओलीले भन्दै आएका छन्,‘एमालेले चुनाव जितेन् भने देश ठूलो दुर्भाग्यमा फस्छ । नेपालको अर्थतन्त्र श्रीलंकाजस्तै हुन्छ ।’ एमालेले जितेन् भने देश सकिन्छ भनेर जनतालाई धमिल्याउन खोज्ने एमालेले आफ्नो हार स्वीकारिसकेको छ । सरकारले घोषणा नगरेपनि नेपालको अर्थतन्त्र श्रीलंका भइसकेको कुरा अर्थविद्ले पनि थाहा पाइसकेका छन् । जनतालाई पनि यसको खबर भइसकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आयो भनेर घोषणा गरिसकेका छन् । विगत तीन महिनाले सरकारले धेरै विदेशी ऋण लिइसकेको छ । देशको आर्थिक अवस्था नाजुक छ भनेर प्रधानमन्त्री देउवाले घुमाउरो भाषामा भनिसकेका छन् । प्रधानमन्त्रीले त अर्थतन्त्र डामाडोल छ भनेर स्वीकारिसकेका छन् भने ओली जतिबेला पनि उही कुरा उठाएको उठाएकै गर्छन् ।
नेपालको अर्थतन्त्र डुबिसक्यो भनेर सरकारले नै प्रष्ट पारिसकेको छ । एमालेलाई जनताले भोट दिए भने नेपाल श्रीलंका हुनबाट बच्छ ? कसरी बच्छ ? ओलीसंग केही विचार छ ? हावादारीको भरमा जे मनलाग्यो त्यही बोलेको छ । देउवाले बचाउन सकेनन् भने ओलीले के बचाउलान् ? सरकार चलाउन नसक्नेले देश बचाउँछ कि डुबाउँछ ? मँहगी बढेको बढ्यै छ ।
सरकारी कर्मचारीलाई दिनुपर्ने खर्च निरन्तर बढिरहेको छ । पेन्सनवाला र बहालवाला कर्मचारीलाई विदेशीसंग ऋण लिएर तलब खुवाउनुपरेको छ । राजस्व उठाउन सकेको छैन, खर्च बढेको बढ्यै छ । अनि जे मनलाग्यो त्यही बोल्ने ? जनताले पत्याउने कुरा त गर्नुपर्छ । यस्तो अवस्थामा त हामीलाई सरकारी सेवासुविधा चाँहिदैन् । पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएर दुई हजारको ल्याउनुपर्छ ।
पेन्सनवाला र बहालवाला कर्मचारीको सेवासुविधा आधा गर्नुपर्छ भन्नुको साटो मैले चुनाव जितिन् भने देश श्रीलंका हुन्छ भनिरहेका छन् । उनले देश र जनताको बारेमा होइन्, आफ्नो बारेमा मात्र सोचेका छन् । यस्तो व्यक्ति आयो भनेचाँहि देश सखाप हुने निश्चित छ । अब विदेशीले ऋण दिएन् भने सरकारी कर्मचारीलाई तलब खुवाउन सकिन्न । कतिञ्जेल यसरी देश चल्छ ?
देशको अवस्था कस्तो छ भनेर थाहा नहुनेलाई भोट दिएर हुन्छ ? जनतालाई कतिञ्जेल ढाँटिरहने ? अहिले सबै क्षेत्र धरासायी बनेको छ । व्यापार व्यवसायीहरु चुलुम्मै डुबेका छन् । मँहगी छोइनसक्नु भएको छ । बैंकले ब्याज बढाएर सडक आन्दोलन गर्नुपरेको छ । बैंक, सहकारीमा पैसा छैन् । होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन व्यवसायीलगायत सबै डुबिसकेका छन् ।
यो श्रीलंकाको अवस्थामा आइपुगेको होइन् ? बजारको अवस्था के छ ? ओलीलाई यति पनि थाहा रहेनछ । प्रधानमन्त्री देउवाले भनेको कुरा सबै जनताले बुझे तर ओलीले बुझेनन् ? कि बुझ्न चाहेनन् ? ओलीले सत्य बोलेर जनतालाई ढाड्स दिएको भए पनि उनले भोट पाँउथे होला । उपचार नपाएकालाई उपचार दिलाउन आश देखायो भने पनि उसले पत्याउँथ्यो ।
तर, ओलीले त त्यति पनि गर्न सकेनन् । नेपाल राष्ट्र बैंकले समेत सरकारी कर्मचारीलाई तलब खुवाउन सकिदैन् भनेर घोषणा गरिसकेको छ । नेता भइसकेपछि यथार्थ कुरा गर्न सक्नुपर्छ । भोटको बार्गेनिङ गर्ने ओलीलाई देश र जनताको मतलब छैन् । बस् सत्तामा पुग्न पाए भयो । राप्रपासंग गठबन्धन गरेका ओलीले कुन मुख देखाएर जनतासंग भोट माग्ने ? राजावादी सोच भएको राप्रपालाई त जनताले भोट दिँदैनन् ।
बल्लतल्ल फालेको राजतन्त्र फेरिपनि जनताले ल्याउन दिन्छन् । ओलीले आफ्नो विचार र सिद्धान्त राप्रपालाई सुम्पिसकेको छ । राप्रपाले खुला रुपमा हामी राजतन्त्र फर्काउछौं भनिसकेका छन् । अनि ओलीले राजा फर्काउने भनेर भोट माग्ने ? एमालेकै कार्यकर्ताले समेत ओलीलाई भोट दिँदैनन् । बरु, एकैसीट आएको भए पनि एक्लै चुनावमा जान सक्नुपथ्र्यो ।
ओलीको कारण देशको राजनीति डामाडोल भयो । चुनावपछि देश कुन जटिल मोडमा जाने निश्चित छ । राप्रपा र एमालेले त चुनाव जित्दैनन् । मंसिर ४ पछि यिनीहरु देशमा राजा चाहिन्छ, संघीयता खारेज गर्नुपर्छ र हिन्दु राज्य फर्काउनुपर्छ भनेर सडकमा उत्रिन्छन् । देशको शान्ति भंग हुन्छ, अर्थतन्त्र झनै तहसनहस हुन्छ ।