बाढीपहिरो पीडित बस्तीमा रणवीर, ‘जनश्रम’ गर्दै
कालिकोट – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सी (रणवीर)ले वाढीपहिरो पीडितको बस्तीमा पुगेका छन् । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्वर ४ का बाढीपहिरो पीडितलाई राहत वितरण गर्न विहिवार त्यहाँ पुगेका हुन् ।
भरत सीले बाढी पहिरो पीडितको अलपत्र अवस्थामा रहेको काममा सक्दो श्रम गरेर सहयोग गरेका छन् । खेतिपाती भित्र्याउने समयमा सेतो कपडा ओढेर परिवार शोकमग्न अवस्थामा भएकाले खेतवाट धान र पराल बोकेर सहयोग गरेका हुन् ।
उनको साथमा पार्टीका केन्द्रीय सदस्य रणदिप सी, जिल्ला सेक्रेटरी शाहसी सी, जिल्ला सदस्य रमेश सी र पत्रकार कर्ण सीले पनि धान, पराल वोकेर जनश्रम गरेका छन । नेकपाका नेता कार्यकर्ताले बाढी पहिरो पीडित परिवारलाई सक्दो जनश्रमबाट सहयोग गरेर दुःख विर्साउने प्रयास गरेका हुन् ।
उनीहरुले हामी पनि तपाईहरुकै छोरा तथा आफन्त जस्तै हौं भन्दै जे जस्तो घटनाबाट आफन्त गुमाएपनि अब उप्रान्त दुखत घटनालाई सधैका लागि विर्सन आग्रह गरेका छन । बाढी पहिरो पीडित परिवारहरुले नेकपाका नेता कार्यकताले राहत वितरण संगै श्रममा सहयोग गरेपछि हर्षित हुदै धन्यवाद दिएका छन ।
गत असोज २३ गते मलामी गएका वडा अध्यक्ष सहित १३ जनाको बाढी पहिरोले ज्यान गएका परिवारका सदस्यहरुलाई नेकपाले राहत वितरणसँगै जनश्रम गरेको हो । मुटुरोग पीडित हिमराज शाहीको मृत्यु भएपछि तिलानदिको किनारमा मलामी गएका वडाअध्यक्ष पर बहादुर शाही सहित १३ जनाको बाढी र पहिरोले ज्यान लिएको थियो ।