एमालेले विदेशमा नेपालीहरूले आर्जन गरेको सिपलाई नेपालमै लगाउने वातावरण बनाउछ
काठमाडौं— नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरूले आर्जन गरेको सिपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन् ।
प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताए ।
विदेशमा रहेका नेपालीहरूले आफूसँग भएको सिप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति एमालेले बनाइरहेको उनको भनाइ छ ।
एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।
पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण पनि गरे । संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राखे ।