आफ्नै आम्दानीमा रमाऊँ !
काठमाडौँ – एकादेशमा एउटा सुन्दर गाँउ थियो । त्यो गाँउमा एउटा मुसा अनि साधु बस्थे । साधुले मागेर आफ्नो दैनिकी चलाउथिए।
मुसा पनि ठिक साधु माग्न गाँउमा जाने बेला भयो भने पछि, उ पनि धुम्न जाँदो रहेछ। साधु एकातिर अनि मुसा अर्को तिर । अब साधु आयो भने पछि मुसा पनि घर आँउदो रहेछ। साधुले कमाएर लिएर आएको सामान सधैं एउटा पोकोमा झुन्ड्याएर राख्थ्यो ।
अनि थाकेर आएको साधु आफ्नो पुरपुरोमा हात लगाएर सुत्थ्यो । मुसा चाँही बडो फुर्तीका साथ गएर साधुले झुन्ड्याएको पोको फुत्त उफ्रिएर जाने मजाले खाने अनि आफूलाई चाहिने सम्पूर्ण सामानहरु लिएर आँउथ्यो ।
एक–दुई दिन, महिना, वर्ष गर्दै वर्षै बित्यो। एकदिन साधुलाई लागेछ मैलेनै मागेर लिएर आएको चिजलाई आँउछ खान्छ लैजान्छ अनि आँउदै गर्दा बडो फुर्तीका साथ आँउछ। यसको यस्तो फुर्तीको पछाडिको पृष्ठभूमी के रहेछ भनेर साधुलाई जान्न मन लागेछ। अनि सधैंझै आज पनि साधु बाहिर निस्किए पछि मुसा पनि बाहिर निस्किन्छ।
मुसा बाहिर निस्किने बित्तिकै साधु फर्किएर घर जान्छन्। अनि त्यसपछि साधुले मुसा जुन दुलोबाट बाहिर निस्किन्थ्यो । त्यहि दुलो खन्दै गए। अनि केहि समय दुलो खनिसके पछि मुसाले अन्न भण्डारण गरेर राख्ने ठाँउमा पुगे। उक्त ठाँउमा पुगी सकेपछि साधु मुसाले वर्षैसम्म पुग्ने गरी अन्न मिलाएर राखेको देखेर चकित पर्छन। त्यति देखे पछि साधुले सम्पूर्ण सामान उठाएर पुन आफ्नै घरमा लिएर जान्छन्। अब यता मुसा चाँही साधु आउने बेला भयो होला भनेर घर आँउछ अनि आफ्नो दुलो भित्र पस्छ। जब मुसा आफ्नो दुलोमा पस्छ तब आफ्नो सामान भद्रगोल देखेर निकै निराश हुन्छ, अनि त्यो फुर्ति हराएर लत्रक्क पर्छ।
सधैं गए झैं आज पनि साधुकोमा जान्छ। साधु पनि सधैंझै आफ्नो पुरपुरोमा हात लगाएर सुतिरहेका थिए। अब त्यो मुसा उर्फन खोज्छ उर्फिनै सक्दैन। उसले पटक पटक कोसिस गर्यो, साधुलाई हेर्दा पनि हेरेन। अनि दुई–चार चोटी गर्दा पनि नसके पछि आफ्नै दुलो तिर लाग्छ।
दुई–चार दिन अगाडिसम्म त्यस्तो फुर्ति भएको मुसा अब मेरो सबै लुटिएपछि त्यो फुर्ती रहेन। तसर्थ, आफ्नो आम्दानीमा रमाउने गरौँ । अरुको कमाईमा रमाउन थाले केही समयका लागि हुन्छ, आफूले कमाएको सम्पत्तिमा संधैभरी रमाउन पाइन्छ ।