बुवाको टिकट खोसेका थकाली बने प्रतिनिधिसभाको पहिलो सांसद

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभामा पहिलो खाता खोलेको छ । २९ वर्षका योगेश गौचन थकाली कांग्रेसबाट निर्वाचित भएर पहिलो सांसद बनेका छन् ।

मुस्ताङमा यसपालि पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नेपाली कांग्रेसले पूर्वमन्त्रीसमेत रहेका जिल्ला सभापति रौमी गौचन थकालीलाई टिकट दिएको थियो। रोमीले आफूले पाएको टिकट आफ्ना छोरालाई दिएका थिए ।

उनका छोरा २९ वर्षका योगेश गौचन थकाली कांग्रेसबाट उम्मेदवार भए। नेविसंघबाट राजनीति गरेका योगेश पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय थिए।

रोमीले जनताले युवा पुस्तालाई राजनीतिमा देख्न चाहेको भन्दै आफूले पाएको टिकट छोरालाई सुम्पेको बताएका थिए। सोमबार सकिएको मतगणनामा योगेशले मुस्ताङबाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका हुन्।

यहाँ सात हजार दुई सय ३० मत खसेको थियो। योगेशले ३९९६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा ९एमाले० का निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याए।

मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।