एमालेका भट्टलाई धुलो चटाउँदै कैलालीबाट कांग्रेसका बलायर विजयी

बिहिबार, ८ मंसिर २०७९

धनगढी – नेकपा एमालेका सचिव लेखराज भट्टलाई धुलो चटाउँदै कैलाली ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर एमालेका सुदूरपश्चिम इन्चार्जसमेत रहेका लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन् । उनीहरु बीचको मत अन्तर तीन हजार ५८४ रहेको छ ।

डोटीका बलायर सत्ता गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भागमा परेपछि कैलाली झरेर चुनाव लडेका थिए । २०७४ सालमा बलायर डोटीमा प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।