संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग

मंगलबार, १३ मंसिर २०७९

काठमाडौं— नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) अर्थात् संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् । सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।

उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सव गर्नका लागि सोही स्तरको हल आवश्यक रहेको बताए । बीआईसीसी भवन संसद् बस्नका निम्ति नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रूपमा सञ्चालनका लागि भएकाले तत्काल खाली गराउनुपर्ने बताए । सरकारले ठूलाठूला मेला, महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

“काठमाडौंमा अन्तराष्ट्रियस्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर ९बीआईसीसी० संसद् भवन चीनले अन्तराष्ट्रियस्तरको हलका लागि दिएको हो,” उनले भने, “त्यो संसद् बस्ने स्थान होइन । बीआईसीसी हललाई जतिसक्दो खाली गराउनुपर्छ । त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन । बीआईसीसी अन्तर्राष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो । मेला, महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पत्ति हो । जुन प्रयोजनाका लागि दिइएको हो, त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।”’

उनले मेला, महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।