एक जोडी भँगेराको कथा
काठमाडौँ – एउटा सानो अनि सुन्दर गाँउमा एक जोडी भँगेरा थिए । तिनीहरुले पिपलको रुखमा गुड लगाएका थिए । केहि समय यता तिनीहरुलाई गुडमा पस्दा हल्का गनाएको जस्तो महसुस हुन थालेको थियो । तिनीहरुले गुड सफा गरेर दुर्गन्ध हटाउन अनेक उपाय लगाए । धेरै डाली फेरे र गुड बनाउन प्रयोग गर्ने सामाग्री पनि धोई पखाली बडो व्यवस्थित गरेर गुड बनाए । तर पनि उक्त दुर्गन्ध हटेन ।
अति गर्दा पनि नभए पछि उनीहरुले चराहरुको बुद्धिजिवीसामु गएर आफ्नो दुःख पोखे । अनि त्यस पछि ति बुद्धिजिवीले तिनीहरुलाई त्यो गाँउ छोडि अलि परको गाँउमा गएर आफ्नो गुड बनाउन सल्लाह दिए ।
बुद्धिजिवीको सल्लाह अनुसार उनीहरुले गुड बनाउने सामाग्रीलाई धोई पखाली, सुकाएर पुन नयाँ गुड बनाउन तिर लागे । गुड बनिसके पछि एकदमै उत्साह पूर्वक अब त नयाँ गुडमा दुर्गन्ध नआउला भनेर बस्न जाँदा त्यहा पनि उनीहरुलाई गन्धले छोड्दैन ।
लगातारको प्रयास पछि पनि दुर्गन्ध नहटे पछि उनीहरु फेरि बुद्धिजिवी भएको ठाँउमा पुगे । त्यस पछि ती बुद्धिजिवीले गुड बनाउदा अन्य सामाग्री पखाले जस्तै आफ्नो पनि सरसफाई गरेको भए त्यस्तो गन्ध नआउने बताए।
भँगेरोले ठाँउ बदल्यो, गाँउ बदल्यो, सामान बदल्दै गर्दा कहिले पनि आफू भित्रको अवस्था, स्थिति कस्तो छ कहिले पनि बुझ्न खोजेन । सामान पखाल्दा आफू पनि पखालिएको भए उसले अवश्य पनि यति धेरै दुःख पाउनु पर्ने थिएन।