छोराको एक शब्दले बाउको चेत खुल्यो

सोमबार, १९ मंसिर २०७९

काठमाडौं – एकादेशमा एक दिनको घटना हो । एउटा हाकिमलाई कुनै साथीको पिकनिकमा जानु पर्ने रहेछ ।श्रीमतीलाई उसले डेटलाइन दिदै भन्यो, ‘आज चार बजेसम्म तिमी तयार भइसक्नु । हामी एउटा साथीको भोजमा जाँदैछौँ । तिमी आफूलाई फटाफट तयार गर्नु ।’

श्रीमानको कुरा सुनेपछि श्रीमतीले सोधिन्, ‘अनि छोराछोरीलाई के गर्ने ?’ श्रीमानले तुरुन्तै जवाफ दिए, ‘छोराछोरी पनि हामीसँगै जान्छन् ।’

श्रीमतीले फेरि सोधिन, ‘अनि बुढा भएका बुबाआमा त हामीसँग हिँड्न सक्नु हुन्न, उहाँहरुलाई के बन्दो–बस्त मिलाएर जाने होला ?’ श्रीमानले जवाफ दिए, ‘यहाँ नजिकै शिवालयमा आज ठूलो भण्डारा चल्दै छ । त्यहाँ सबैको लागि व्यवस्था गरिएको छ । यसो गरौँ बुबाआमालाई त्यही भण्डारामा लगेर छोडिदिऊ । छोराछोरीलाई लिएर हामी जाउ छोराछोरी खेल्नमा व्यस्त हुन्छन हामी भोजमा रमाउला । अनि फर्कीदा छोराछोरी अनि बुबाआमालाई पनि सँगै लिएर आउला ।’

हुन्छ भनेर श्रीमान श्रीमतीसहित छोराछोरी र बुवाआमालाई लिएर घरबाट निस्किए । बुबाआमालाई बाटोमा पर्ने भण्डारामा छोडेर अगाडि बढे । जाँदै गर्दा बाटोमा छोराले भन्छ, ‘बाबा अलि धन कमाई सकेपछि यही सिवालयको छेउमा सानो घडेरी किन्नु पर्छ होला ।’

बुवाले आश्चर्य प्रकट गर्दै छोरोलाई सोध्यो, ‘किन ?’ छोराले भन्यो, ‘भोली हाम्रो पनि यस्तै व्यस्ताको दिन आयो भने शिवालय नजिकै घर बनाइ दिँदा तपाइँहरुलाई भण्डारामा जान सजिलो हुन्छ नि त !’

छोराको सो वाक्यले बाउ निशब्द भयो अनि आफूले बुबाआमा प्रति गरेको काम ठिक होइन रहेछ भनेर बुझ्यो । तपाइँको छोराछोरीले तपाइँले जे सिकायो तेहि सिक्छन्, जे गर्यो त्यहि बुझ्छन्।