समानुपातिकका सांसद छान्न लिङ्देनलाई सकस
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समानुपातिक सांसद छान्न सकस भएको छ । प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएको छ । राप्रपाले समानुपातिकको ७ मध्ये ५ जना महिला र दुई जना पुरुषलाई संसदमा पठाउनु पर्ने छ ।
समानुपातिकतर्फ खर्स आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर राणालाई सांसद बनाउने विषयमा कुनै विवाद नभए पनि दोश्रो पुरुषका बारेमा विवाद भएको राप्रपा निकट श्रोतले जनाएको छ । आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका बुद्धीमान तामाङ, मधेसीको पहिलो नम्बरमा रहेका प्रल्हाद साह र खस आर्यतर्फ दोश्रो नम्बरमा रहेका प्रकाशचन्द्र लोहनी मध्ये एक जना छान्न राप्रपा अध्यक्ष लिङ्देनलाई सकस भएको हो ।
पुरुषतर्फ सांसद हुनेको नाम नटुंगिएकाले ५ जना महिलातर्फ पनि कसलाई पठाउने भन्ने टुंगो लागेको छैन ।लोहनीलाई लैजाँदा महिला खस आर्यको पहिलो नम्बरमा रहेकी रोशन कार्की सांसद हुन पाउँदिनन् ।
यस्तै तामाङलाई लगेमा आदिवासी महिलातर्फ पहिलो नम्बरमा रहेकी बिना लामाको नाम काटिने छ ।समानुपातिकमा मधेसबाट राम्रो मत आएकोले साहलाई लैजाने दबाव पनि अध्यक्ष लिङदेनमाथि छ ।