एलन मस्कको कम्पनीमाथि पशु अधिकार हनन गरेको आशंकामा छानबिन सुरु

बुधबार, २८ मंसिर २०७९

काठमाडौं— विश्वका दोस्रो धनाड्य व्यक्ति एलन मस्कको कम्पनी न्युरोलिङ्कमाथि पशु अधिकार हनन गरेको आशंकामा छानबिन सुरु भएको छ । संयुक्त राज्य कृषि विभाग (यूएसडीए) का महानिरीक्षकले कम्पनीमाथि छानबिन सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यम रोयटर्सले जनाएको छ ।

रिपोर्टका अनुसार कम्पनीमाथि हतारमा जनावरमा परीक्षण गरेको र सोही कारण सन् २०१८ यता २८० भन्दा बढी भेडा, सुँगुर र बाँदरसहित कूल १५०० जनावरको पीडादायी मृत्‍यु भएको आरोप छ ।

प्राप्त आकँडाको आधारमा मात्र कम्पनीले कानुन उलङ्घन गरेको नलाग्ने भए पनि संस्थापक एलन मस्कले विकासको गति बढाउन दिएको दबावका कारण त्रुटिपूर्ण परीक्षण हुन पुगेको र त्यसबाट मृत्युदर आवश्यकता भन्दा बढी हुन पुगेको न्यूरोलिङ्कका कर्मचारी स्वयमले स्वीकार गरेको जनाइएको छ ।

रिपोर्टका अनुसार मस्कले आफ्ना कर्मचारीहरुलाई एक पछि आर्को दबाब मुलक इमेल पठाइरहने कुराको पनि खुलासा भएको छ । कम्पनीको आन्तरिक कागजातमा रोयटर्सले गरेको जाँचका अनुसार चार ओटा परीक्षणमा सहभागी गराइएका ८६ ओटा सुँगुर र दुई बाँदरमा आएको नतिजामा मानवीय त्रुटी रहेको र सोही परिक्षणलाई दोहोर्याउदा थप जनावरहरुको समेत मृत्‍यु भएको थियो ।

‘न्युरोलिन्कमा आवश्यक तयारीको कमी र अत्याधिक दबाबकैबीचमा जनावरहरुको शल्यकृया गर्ने गरिन्छ ।’ कम्पनीकै कर्मचारीलाई उध्रदत गर्दै रोयटर्सले जनाएको छ ।

कम्पनी माथि यसै वर्षको सुरुवातमा पनि लापरवाहीका कारण जनावरको मृत्‍यु भएको आरोप लागेको थियो । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा रेस्पोनशिवल मेडिसिन फर फिजिसियन कमिटी’ को संयुक्त अनुसन्धानमा पनि न्यूरालिङ्कले छ वटा बाँदरहरू मारेको भेटिएको थियो ।