निगममा तनाव, वार्ता चलिरहेको बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरु प्रवेश

बिहिबार, २९ मंसिर २०७९

काठमाडौं— निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरु प्रवेश गरेपछि निगममा तनाव उत्पन्न भएको छ ।

नेपाल वायुसेवा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीच निगमको मानव संशाधन विभागमा भइरहेको वार्तामा जानकारी बिना प्रवेश गरेका ट्रेड युनियनकर्मी र संघबीच हात हालाहाल भएको संघकी एक पदाधिकारीले बताइन् ।

वार्तास्थलमा तनाव उत्पन्न भएपछि न्युरोडमा रहेको जनसेवा प्रहरी वृत्तका प्रमुख डिएसपी शालिग्राम शर्मासहितको प्रहरी टोली निगममा पुगेको छ । डिएसपी शर्माले क्याबिन क्रु जाइलागेको अभियोगमा दुई जना ट्रेड युनियनका नेतालाई नियन्त्रणमा लिएको बताए ।

निगममा अहिले वार्ता बिथोलिएको छ । संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कानबाट रगताम्य भएको बताइन् ।

प्रहरीले ट्रेड युनियनकर्मीलाई नियन्त्रण लिएर प्रहरी भ्यानमा राखेपछि निगमका कर्मचारीले दुवै गेटमा ताला लगाइदिएको डिएसपी शर्माले बताए । निगमका एक निर्देशकले वार्ता बिथोलिएको जानकारी दिएका छन् । ‘ठूलोठूलो स्वरमा होहल्ला भयो । प्रहरी आइपुगेको छ । यर्थाथ बुझ्दै छौं,’ निगमका एक निर्देशकले भने ।