संयुक्त निवेदन बोकेर राष्ट्र बैंक पुगे ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू
काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्जरका लागि अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेका छन् । ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठ अन्तिम स्वीकृतिका लागि निवेदन बोकेर नेपाल राष्ट्र बैंक पुगेका हुन् ।
उनीहरुले गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् । कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । यसअघि ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।
मर्जरको निम्ति शेयर स्वापअनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।अनुमोदनलाई दुवै बैंकले मसिंर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेका छन् । तर बैंक अफ काठमाडौंको उक्त सभा अबैध भएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ ।
अंगराज भारतीसहितका शेयरधनीहरुले साधारणसभामा गणपुरक संख्या नपुगेको भन्दै राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । उनीहरुले उक्त सभामा गणपुरक संस्था नपुगेको भन्दै तत्काल अर्को सभा बोलाउनका लागि निर्देशन दिन माग गरेका छन् ।