यस्तो हुनपर्छ साथीको माया
काठमाडौं – एक समयको कुरा थियो, चरा र कमिला साथी थिए । चरा र कमिला एउटै रुखमा बस्थे । रुख खोलाको फेदमै थियो । एकदिन कमिलाको खुट्टा चिप्लिएर खोलामा खस्यो । खोलाले कमिलालाई बगाउँदै– बगाउँदै लग्यो ।
बचाउ–बचाउ भन्दै आत्तिएर कमिला चिच्यायो । आफ्नो साथीलाई बचाउन चराले जुक्ति सोच्यो । उसले रुखको पातहरु चुच्चोमा अड्कायो । एक–एक गर्दै तल खोलामा खसाल्यो । पात खोलामा बग्दै बग्दै कमिलाको छेउसम्म पुग्यो । कमिला पातकै आड लिएर खोलाको किनारामा आयो । किनारा सम्म पुगेर कमिलाले आफ्नो ज्यान बचायो । कमिलाले चरालाई धन्यवाद दियो ।
त्यस्तै अर्को दिन चरा र कमिला गफ गरेर बसिरहेका थिए । एउटा शिकारी शिकार गर्न आयो । त्यो शिकारीले चरालाई देख्यो । आफूसँग भएको बन्दुकले चरालाई ताक्यो । कमिलाले ठ्याक्कै देख्यो । कमिला पनि कम बाठो थिएन । कमिलाले रुखबाट हाम फाल्यो । शिकारीको हातमा कुटुक्क टोकी दियो । आ.इ.या भनेर शिकारी चिच्यायो । शिकारीले बन्दुक फ्याँकेर आफ्नो हातमा हेर्यो । त्यतिञ्जेल चरा भुर्र उडेर आफ्नो ज्यान जोगायो ।