मेयर राई माथी गम्भिर आरोप, तिन करोड माथीको सहयोग सामाग्री प्रयोगमा आएन

आइतबार, ३ पौस २०७९

काठमाडौं— खानेपानी बोर्डका सदस्य तथा नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेलले तीन करोड बढीको सामग्री सहयोगको रुपमा आएको प्रचार गरेका मेयरले सबै सामग्री खानेपानी बोर्डका लागि प्रयोग समेत नगरेको आरोप लगाएका छन् । पोख्रेलले नौ महिनासम्म बोर्डको बैठक डाक्न नसकेको पनि बताए ।

साथै नौ महिनासम्म धरान खानेपानी बोर्डको बैठक बस्न नसकिरहेको अवस्थामा दलहरुले बोर्डको पारदर्शिताबारे जानकारी माग्दा पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सूचना दिन अवरोध गरेको आरोप लागेको छ ।

‘७५ प्रतिशत सामग्री खोलाखोल्सीतिर गएको छ, त्यसले कति उत्पादन दियो?’, बोर्ड सदस्य पोख्रेलले प्रश्न गरे, ‘बोर्डको हिसाबकिताब बारे बुझ्न जाँदा लेखा अधिकृतले जानकारी नदिनू भन्ने नगर प्रमुखको निर्देशन छ भने, अहिले धरान उपमहानगर र खानेपानी बोर्ड खोक्रो बन्दै गैरहेको छ ।’

धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय–व्यय प्रस्तुत हुन सकेन । बिहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिएका थिए ।