नेकपा सल्यानको राजनीतिक अन्तरक्रिया सम्पन्न
सल्यान – नेपाल कम्युनिस्ट पार्टी सल्यानको राजनीतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारले ल्याएको मुलुकि फौजदारि कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै विरोध स्वरुप नेकपा सल्यानले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
पार्टीको केन्द्रद्वारा हालै निर्धारण गरिएका संघर्ष कार्यक्रम अन्तरगत आयोजना गरिएको कार्यक्रममा मुख्य वक्ताको रुपमा रहेका पार्टीका केन्द्रीय सदस्य सविन सीले विदेशीका एजेण्टहरुले अध्यादेशको विरोध गरेको बताए । आफ्नो पार्टी र नेपाल सरकारबिच २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमति अनुसार झुट्टामुद्दामा जेल हिरासतमा रहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु छुटाउनका साथै पार्टीका नेता र कार्यकर्ताहरुलाई लगाइएका झुट्टामुद्दाहरु फिर्ता लिन सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले अध्यादेश रोक्न नहुने जिकिर गरे ।
सरकारले गलत नियतवस आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अहिले पनि २६ सय भन्दा बढि झुट्टामुद्दा लगाएको र ३८ जना नेता र कार्यकर्ताहरुलाई जेल हिरासतमा थुनि राखेको भन्दै सरकारको यस्तै दमनात्मक नीति रहिरहे संचित विद्रोह विस्फोट हुनसक्ने बताए ।
कार्यक्रममा बोल्दै अर्को एक प्रसंगमा सविन सीले दलाल पुँजिवादी संसदीय व्यवस्थाको महिना दिन अगाडि भएको भनिएको कथित निर्वाचनबाट देखिएको परिणामले सो व्यवस्था थप संकटमा पर्दै गएको पुष्टि भएको बताए । अन्तरक्रिया कार्यक्रममा सहजिकरण मन्तव्य दिदै सो पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य भीम सीले देशमा दिनदहाडै विदेशी हस्तक्षेप हुँदा र विदेशी नागरिक समेत आएर निर्वाचन लडदासम्म चुइक्क बोल्न नसक्ने केही राजनीतिक पात्रहरुले सो अध्यादेशको विरोध गर्नुले उनीहरु देशको लागि राजनीति गर्छन कि विदेशीको लागि भनेर प्रश्न गरे।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अरु बक्ताहरुले राज्यले आफूले गरेका सहमति र सम्झौताहरु जिम्मेवार भएर कार्यन्वयन गर्नुपर्ने होइन भने राज्य र सरकारप्रति विस्वसनियता घट्ने,राज्यले नागरिकहरुलाई फरक व्यवहार गर्दा विद्रोह संगठित हुने, कसैले विरोध गर्दैमा राज्य आफ्नो दायित्वबाट पन्छिन नहुने, संविधान पनि परिवर्तनिय हुने भएकोले काम गर्न सजिलोको लागि अध्यादेश आवश्यक पर्न, २१ महिनासम्म सरकारद्वारा ३ बुँदे सहमति लागू नहुन दुस्खद भएको लगायत धारणा व्यक्त गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सदस्य मान बहादुर मल्ल (संघर्ष), मानव अधिकारकर्मि तथा नागरिक समाजका अगुवा रामचन्द्र रेग्मी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य खकेन्द्र के.सी, गैह्रसरकारी संस्था महासंघ नेपाल सल्यानका अध्यक्ष दिपेन्द्र शाही, पत्रकार पुरषोत्तम गिरी लगायतले आफ्ना अन्तरक्रियात्मक धारणा व्यक्त गरेका थिए।
कार्यक्रम पार्टीका जिल्ला सचिव मदन सीको अध्यक्षतामा भएको थियो भने युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश सीले संचालन गरेका थिए।
तस्वीर : खगेन्द्र केसी