पीडासँग सम्झौता गर्नु नै बुद्धिमानी हो
काठमाडौं – एकादेशको एक जंगलमा एउटा काग बस्थ्यो । कागलाई आफ्नो कालो रङ्ग प्रति निकै घृणा थियो । उ सधैं म कालो नभएर यो बकुल्ला जस्तै गोरो भएको भए कति राम्रो हुन्थ्यो होला भन्ने सोचिरहन्थ्यो ।
एक दिन ऊ बकुल्ला भएको ठाँउमा गयो र बकुल्लालाई भन्यो, ‘ए बकुल्ला तँ आफ्नो जिन्दगीसँग कति खुशी छस् होला है । तँ कति भाग्यमानी छस् । तँ कति सेतो छस् । कति सुन्दर छस् । छुदाँ पनि दाग लाग्ला जस्तौ छस् । तँ जति सुन्दर पंक्षी त संसार मै छैन होला कति भाग्यमानी छस् तँ ।’
कागको जवाफ सुनेपछि बकुल्लाले भन्यो, ‘काग भाई म तैँले भने जस्तो खुशी छैन । म तैँले भने जस्तो त्यति राम्रो पनि छैन । एक चोटी सुगालाई भेट ऊ धेरै राम्रो छ ।’ बकुल्लाको कुरा सुनिसके पछि काग सुगालाई खोज्दै हिँड्यो । खोज्दै जाँदा जंगलको बिचमा एउटा ठूलो रुखमा सुगा बसेको भेट्यो । उसले सुगालाई गएर भन्यो, ‘सुगा भाई तिमी कति भाग्यमानी छौ, तिमी कति राम्रो छौ । तिम्रो हरियो रंग तिमीमा कति सुहाएको छ । झन् तिम्रो त्यो घाँटीको रातो रंगको डोरो ओहो साह्रै राम्रो देखिएका छौ । तिमी जति भाग्यमानी र खुशी त कोही पनि छैन होला । किनकी तिमी जति सुन्दर पंक्षी मैले आजसम्म कहि देखेको छैन । यो पंक्षी जगतमा सबै भन्दा सुन्दर भनेकै तिमी छौ ।’
कागको कुरा सुनेपछि सुगाले भन्छ, ‘होइन काग दाजै म तपाइँले भने जस्तो खुशी छैन । र तपार्इँले भने जस्तो संसारकौ राम्रो पंक्षी पनि होइन । म भन्दा राम्रो त मयुर छ । पंक्षीहरु मै सबै भन्दा राम्रो त मयुर होनी । एकचोटी तपार्इँले मयुरलाई भेट्नु होला । उसको रुप देखेर तपार्इँ मोहित हुनुहुनेछ ।’, सुगाको कुरा सुनिसके पछि काग मयुरलाई खोज्न भनेर निस्कियो ।
उसले सारा जंगलभरी मयुरलाई खोज्या तर कतै भेट्न सकेन । सारा जंगल घुम्यो, जंगलको कुना–कुना खोज्यो तर मयुरलाई भेटाउन सकेन । जंगलमा मयुरलाई भेटाउन नसकेपछि उ मयुरलाई खोज्दै सहरमा पस्यो । सहरमा पनि उसले धेरै दिन मयुरलाई खोजेपछि एक दिन उसले एउटा चिडियाखानामा भेट्यो । मयुर एउटा पिंजडा भित्र थुनिएको थियो । त्यो देखेपछि उ मयुरको नजिक गयो । अनि यस अघि बकुल्ला, अनि सुगाको तारिफ गरे झैं अनेकौ शब्दले उसको पनि बयान गर्न थाल्यो ।
कागको सम्पूर्ण कुरा सुनेपछि मयुरले उदास हुदै भन्यो, ‘के मा खुशी हुनु र काग भाई सायद संसारमा म जति दुःखी पंक्षी र म जति अभागी पंक्षी कोही पनि छैन होला । हो म सुन्दर छु, मेरो पखेटा राम्रो छ । म हेर्दा राम्रो देखिन्छु । तर मेरो यहि सुन्दरताले गर्दा मेरो सारा जिन्दगी नै यहि पिंजडा भित्र बित्ने वाला छ । यदि म यो पिंजडाबाट भागी हाले भने पनि मान्छेहरुले मेरो प्वाँखको लागि मलाई मार्ने छन् ।’
मयुर एकछिन रोकियो अनि काग तिर हेर्दै फेरी भन्या, ‘काग भाई म भन्दा भाग्यमानी त तिमी छौ । तिमी जहाँ मन लाग्छ, जति खेर मन लाग्छ, उडेर जान सक्छौ ।’ मयुरको कुरा सुनेपछि कागलाई महसुस भयो कि सबैको जिन्दगीमा आ–आफ्ना किसिमको पीडा हुन्छ । त्यो पीडासँग सम्झौता गर्दै अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ ।