केहि बुद्धिजिवी साथीले सुझाव दिए तापनि गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुदैनः प्रचण्ड
काठमाडौं— सोमबार बिहान गृहजिल्ला चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर विमानस्थलमा नेपाल प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने‚ ‘कतिपय बुद्धिजिवी साथीले गैरराजनितिक व्यक्ति पनि राष्ट्रपति हुन सक्ने सुझाव दिए तापनि त्यो अब सम्भव छैन । यो कुरा टुङ्गिसकेको छ ।’ अध्यक्ष दाहालले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको बताएका छन् ।
गठबन्धनभित्र या अन्य राजनीतिक दल कसैसँग पनि यो विषयमा चर्चा नभएको उनले बताए । बुद्धिजीवी साथीहरूले त्यस्तो कुनै व्यक्तित्व भए राष्ट्रपति बनाउँदा ठिक हुन्छ भनेको बाहेक यस विषयमा अन्य कुनै पक्षको चाहना योजना नजोडिएको उनले बताए । सहमति र समझदारीबाट सरकार गठन हुने हो भन्दै समझदारीबाट आफूलाई जिम्मेवारी आए लिने र समझदारीबाट अरु नै हुने भयो भने त्यो पनि मान्ने उनले बताए ।
तर‚ शेरबहादुर देउवलाई प्रधानमन्त्री मानेर गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने भन्ने मौखिक सहमति भएको दाहालले स्मरण गराए । यो समझदारी अहिले पनि कायमै रहेको उनले बताए । निर्वाचनपछि एमाले र अन्य राजनीतिक दलबीच छलफल चलेको उनले बताए । ‘यो स्वाभाविक पनि हो । एमालेसँग पनि गठबन्धनका सबै दलको कुरा भएको छ । कुरा हुँदैमा त्यही नै टुङ्गो र निष्कर्षमा पुग्यो भन्ने छैन‚’ दाहालले भने ।
अध्यक्ष दाहालले अहिले हामी गठबनधनमा छौं भन्दै गठबन्धन नै कायम राख्ने गरेर छलफल चलेको पनि बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा गठबन्धनबीच भागबन्डा हुने र प्याकेजमै यो विषयमा सहमति हुनुपर्ने उनले बताए । राष्ट्रपतिले दिएको समयभित्रै यी विषयमा निर्णय हुने उनले बताए । राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसले नै राख्ने कुरा नभएको उनले बताए ।