भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्छ

सोमबार, ४ पौस २०७९

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने टिप्पणी गरे ।

सोमबार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्र हुने बताएका छन् ।

‘कसैले गैरवामपन्थी सरकार बनाउने कुरा उठाउने गरेका छन्, त्यो खयाली पुृलाव मात्र हो । कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, त्यो पनि अलमल्याउने कुरामात्र हो । त्यसो हुनाले यस्तो कुरालाई सजिलो गरी पत्याउन सक्तैनौं’ अध्यक्ष नेपालले भने, ‘भएकाको विश्वास गुमाउने अनि हुदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, त्यस्तो गल्ती हामी गर्न सक्दैनौं ।’

उनले अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि संकेत गरे । ‘एकातर्फ हामीले मित्रहरुको खोजी र पहिचान पनि गर्ने र मान्छेमा परिवर्तन र रुपान्तरण भइरहेको छ भने, आत्मालोचना देखिएको छ भने साँच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने, यो दुईवटै कुरामा उत्तिकै ध्यान दिएर चल्नुपर्छ’ उनले भने ।

नेता नेपालले अगाडि भने, ‘तर भ्रम पालेर बसियो भने त्यसपछि जुन परिणामको सामना गर्नुपर्छ, त्यसपछि हामीलाई बचाउने कोही हुने छैन, घर न घाटको अवस्थामा पुग्नेछौं ।’

२०७४ को चुनावमा आएको जनादेशबाट राम्रो शिक्षा लिएर अगाडि बढेको भए अहिले बेग्लै नतिजा आउने भन्दै उनले तर सबै कुरा आफूहरुको हातमा नभएको बताए । ‘वास्तवमा २०७४ सालको जनादेशबाट शिक्षा लिएर राम्रो ढंगले अगाडि बढेको भए बेग्लै परिणाम आउँथ्यो’ उनले भने, ‘तर हामीले चाहेर मात्र घटनाक्रम अगाडि बढ्दैन, विभिन्न पात्रको भूमिकाले ठूलो प्रभाव पार्छ ।’

अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेको भन्दै गठबन्धनकै सरकार बन्ने बताए । ‘गठबन्धन हामी कायम राख्नेछौं, गठबन्धन दलका नेताले सँगसँगै जाने संयुक्त वक्तव्य जारी गरिसकेका छौं । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौं’ अध्यक्ष नेपालले भने, ‘गठबन्धन दलका अरु पार्टी र पार्टीभित्रका नेताहरुमा अहंकार छ भने, उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न हामी तयार छौं ।’

नेता नेपालले बजारमा चलेका हल्लाको पछाडि नलाग्न पनि सांसद र पार्टीका नेताहरुलाई आग्रह गरे । ‘बजारमा फैलिएका हल्लाको पछाडि जाने कुरा पनि आउँदैन, यस अर्थमा सबै कुरामाथि हाम्रो नजर पुग्नुपर्छ, गहिरो विश्लेषण गर्नुपर्छ । भित्रभित्र चलिरहेका अनेक खेलहरु थाहा पाउन सक्नुुपर्छ । सबै कुराप्रति सजग हुनुपर्छ, तर हल्लाका पछि पनि जान भएन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो कुराकानी भएको र दुबै नेता गठबन्धन कायम राख्न तयार रहेको भन्दै नेता नेपालले संसदीय दलको नेता चयन भएपछि मात्र छलफल अघि बढ्ने बताए ।