राष्ट्रपतिमा झलनाथ खनालको ससक्त दाबी
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपति सशक्त दाबी रहने बताएका छन् । सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका हुन् ।
राष्ट्रपति राष्ट्रको अभिभावक हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ । त्यो विगतलाई हेरेर पनि गल्ती दोहोर्याउनु हुँदैन’ खनालले भने,‘अब सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिको दाबी रहन्छ । त्यसमा पार्टीको तर्फबाट मेरो दाबी हो ।’
एकीकृत समाजवादीले प्रधानमन्त्री र सभामुख दाबी नगरेकाले राष्ट्रपति पाउनुपर्ने भन्दै लागेको हो । विगतदेखि सत्ता गठबन्धनमा भावी राष्ट्रपतिको रुपमा खनालको चर्चा हुँदै आएको थियो । पूर्व प्रधानमन्त्री र तत्कालीन एमाले अध्यक्ष समेत भइसकेकाले राष्ट्रपति बनाउँदा पदको समेत गरिमा बढ्ने नेताहरूले बताएका छन् ।