पशुपति शम्शेर जबराद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

बुधबार, ६ पौस २०७९

काठमाडौं— प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई बुधबार दिउँसो शपथ ग्रहण गराएकी हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो।

अब जबराले बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभाका नवनिर्वाचित अरु सांसदलाई शपथ ग्रहण गराउने संघीय संसद सचिवालयले जनाएको छ।

नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म वि।सं १९९८ मङ्सिर २४ गते रहेको छ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।