चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं – सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चाल्र्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो ।
शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको छ ।
जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ। उनलाई कारागारभित्रको पनि गोलघर ९एकान्तवासमा० राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ।
१९ वर्ष कैद सजाय भोगीसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानून प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ।
‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुन प्रदत्त अधिकार अनुकुल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ।