राष्ट्रिय पोसाकमा सजिएर शपथ लिन सांसदलाई ओलीको निर्देशन

बुधबार, ६ पौस २०७९

काठमाण्डौ  –  नेकपा एमालेले प्रनिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा सजिएर उपस्थित हुन निर्देशन दिएको छ ।

एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा सजिएर उपस्थित हुन निर्देशन दिएको एमाले   पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको हो ।

यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा भोलि बिहीवार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ । एमालेले प्रतिनिधि सभातर्फ ७८ सिट प्राप्त गरेको छ ।