रविको उपप्रधानमन्त्री बन्ने सम्भावना उच्च

सोमबार, ११ पौस २०७९

काठमाडौं— पहिलोपटक चुनाव लडेर चौंथो शक्तिको रुपमा स्थापित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामेछानेलाई उपप्रधानमन्त्री बनाउने विषयमा ओली–प्रचण्ड सकारात्मक रहेको एक श्रोतको माध्यमबाट जानकारी पाइएको छ। रविले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी बन्ने मनस्थितिमा देखिएको छ । हिजो बालकोटमा गठवन्धनका सूत्रधार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संक्षिप्त छलफलपछि रास्वपाले सरकारमा सहभागी हुने तयारी गरेको हो ।

पार्टी स्रोतका अनुसार आफूहरुले उठाएका आधारभूत एजेन्डामा समझदारी र पदीय मिलान सन्तोषजनक भए सभापति रवि लामिछाने स्वयम् सरकारमा जाने छन् । रविले उपप्रधानमन्त्री सहित जनतासँग जोडिने महत्वपूर्ण मन्त्रालयको दावी गर्ने स्रोतको भनाइ छ ।

‘उहाँले ‘मालदार’ मन्त्रालयभन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने र कामकाजी मन्त्रालयमा जान चाहनु भएको छ, अहिले हुने गठवन्धन वैठकमा त्यही कुरा राख्नुहुन्छ,’ स्रोतले भन्यो ।

हिजो ओलीसँग बालकोटमा भएको वैठकमा लामिछानेले आफ्नो मुख्य एजेन्डाहरु सहित मन्त्रालय बाँडफाँडको विषयमा छलफल गर्न चाहेका थिए । तर, समयको चापले गर्दा त्यो सम्भव भएन । पाँच मिनेटजति रविले ओलीसँग छलफल गरेपश्चात प्रचण्ड बालकोट आइपुगे । त्यसपछि विभिन्न पार्टीहरुको संयुक्त वैठकमा रवि सहभागी भएका थिए ।

रविले पाउने मन्त्रालयको भने टुंगो भएको छैन । अरु पनि थुप्रै पार्टीसँग भागबण्डा मिलाउनुपर्ने भएकाले मन्त्रालय नटुंगिएको हो ।

रास्वपाका एक नेता तेस्रो पार्टीको प्रमुखले प्रधानमन्त्री पाउँदा चौंथो पार्टीको प्रमुख मन्त्री मात्रै लिएर सरकारमा जानु असुहाउँदो हुने बताउँछन् ।
उनले भने, ‘हामीले उपप्रधानमन्त्रीमा दावी गर्नु एकदमै स्वभाविक छ । पार्टीको हैसियतका हिसाबले हेर्दा पनि सभापतिज्यू मन्त्री मात्रै बन्न सुहाउँदो हुँदैन ।’

रास्वपाले सरकारमा कुन कुन मन्त्रालय चाहेको छ त रु ती नेताका अनुसार रक्षा, परराष्ट्र र अर्थ मन्त्रालयमा पार्टीको रुची छैन । गृह मन्त्रालय लिन सकिने सम्भावनाबारे छलफल भइरहेको उनले बताए । त्यो नपाएको खण्डमा शिक्षा, स्वास्थ्य, श्रम, वार्णिज्य–आपूर्ति, श्रम, यातायातजस्ता जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालयहरुमा रास्वपाले दावी गर्ने भएको छ ।