टीकापुर घटनालाई राजनीतिक घटना मानेर निकास नदिए संसद चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा निकास नदिए माघपछि सदन चल्न नदिने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेश सभाको आज आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा निकास नदिए माघपछि सुदूरपश्चिम प्रदेश सभा चल्न नदिने चेतावनी दिएका दिएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले टीकापुर घटनाको निकास नदिए माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने बताएका छन् । उनले आजदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेकोले सो अवधिमा काम गर्न नसके व्यर्थ जाने निश्चित भएको पनि बताएका छन् । उनले भने, हामीले गम्भीर हुन जरुरी छ । ‘२०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घट्यो । राजनीतिक अधिकारको क्रममा घटना घट्यो । तर राज्यले हाम्रो समुदायलाई ठूलो अन्याय गरेको छ।’
उनले अगाडि भने, ‘टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास दिन सकेको छैन। घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ। घटना समाधानले मात्रै समाज विकास हुनेछ। यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेशन चल्न दिने छैनौँ ।’
उनले डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरी र धनगढीको कारागारमा जेलमा रहेका सो घटनाका दोषीलाई सरकारले निकास दिनुपर्नेमा जोड दिए ।
राजनीतिक दल तथा सरकारले व्यक्तिगत स्वार्थका लागि नभइ निष्पक्ष निकास दिनुपर्ने उनले बताए । टीकापुर आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभएकाले यसलाई राजनीतिक मुद्दा बनाएर सरकारले निराकरण गर्नु पर्नेमा उनले जोड दिए ।
प्रदेश सांसदहरुलाई टिकापुर घटनामा मुछिएका ‘निर्दोष’ व्यक्तिलाई रिहाइको लागि आ–आफ्नो पार्टीमा लबिङ्ग गरिदिनसमेत उनले आग्रह गरे।
‘नेपालको संविधान जारी हुँदै गर्दा भूगोललाई नयाँ संरचनामा ल्याउँदा आ–आफ्नो माग राख्दै विभिन्न क्षेत्रमा आन्दोलन भएका थिए, ती आन्दोलनका माग सरकारले राजनीतिक रुपले सम्बोधन गर्दै आएको थियो,’ उनले भने, ‘तर टीकापुरमा मात्रै सुनियोजित ढंगले एउटा पक्षलाई पेलेर अपराधी गराइएको छ।’
नेपालको इतिहासमा राजनीतिक दलले विभिन्न कालखण्डमा राजनीतिक निकासका लागि आन्दोलन गरेको स्मरण गराउँदै उनले थारु समुदायमाथि राज्यले विभेद गरेको बताए।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा ७ सांसद छन् ।