युक्रेनलाई धवस्त पार्ने रुसको गोप्य योजना थाहा पाएपछि अतालिए जेलेन्स्की

मंगलबार, १९ पौस २०७९

काठमाडौँ – युक्रेनलाई धवस्त पार्ने रुसको गोप्य योजना थाहा पाएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्की अतालिएका छन् ।  युक्रेनलाई  निरुत्साहित पार्ने प्रयासमा लामो समयसम्म ड्रोन हमला गरिरहने रुसको गोप्य योजना बनाएको युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले थाहापाएपछि उनि अतालिएका हुन् ।

इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले हमला थाल्ने विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी समेत गरेका छन् ।

डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जाने गरी गरेको एउटा हमलापछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो। युद्ध मैदानमा आफ्नोतर्फ क्षति भएको कुरा विरलै स्वीकार गर्ने गरेको रुसले पछिल्लो पटक आफ्ना ६३ जना फौज मारिएको जनाएको छ।

किभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, ुहामीले यो कुराको सुनिश्चित गर्नैपर्छ कि आतङ्कवादीहरूको अहिलेको लक्ष्यलाई पनि अरू लक्ष्यलाई जस्तै विफल पार्न आवश्यक सबै कदम चाल्नेछौँ।अहिले हाम्रो आकाशको सुरक्षामा रहेका सबैजना अझ विशेष रूपमा त्यसमा केन्द्रित रहनुपर्ने समय हो ।ु

युक्रेनमाथि रुसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो क्रममा भइरहेको छ। मस्कोले पछिल्ला तीन रातमा युक्रेनभरि विभिन्न शहर तथा ऊर्जा केन्द्रमा हमला गर्दै आएको छ।

जेलेन्स्कीका अनुसार युक्रेनी हवाई प्रतिरक्षा बलले सन् २०२३ का शुरूवाती दिनमा इरानमा निर्मित ८० वटा जति ड्रोनलाई खसालिदिएको छ। अधिनस्थ डोनेत्स्क क्षेत्रमा आफूहरूले गरेको एउटा हमलामा ४०० रुसी फौज मारिएको युक्रेनले दाबी गरेको छ।

रुसले चाहिँ ६३ जना मारिएको बताएको छ। तर घटना भएको क्षेत्रमा जान नसकिने भएकोले दुवै पक्षको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।

एक दिनअघि मात्र नेटोका महासचिव एन्स स्टोलटनबेर्गले रुस पछाडि हट्ने सङ्केत नदेखिएकोले पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने बताएका थिए।

सैन्य सहयोगले एउटा सार्वभौम देशको रूपमा टिकिरहन युक्रेनलाई सघाउ पुग्ने, वार्तामा बस्न रुसलाई दबाव दिने तथा सहमतिमार्फत्‌ युद्धको अन्त्य गराउने उत्तर एट्लान्टिक सन्धि सङ्गठनका महासचिवले बताए। वार्ताको टेबुलमा युक्रेन बलियो अवस्थामा हुने कुराको पनि नेटोले सुनिश्चित गर्नुपर्नेमा स्टोलटनबेर्गले जोड दिए।

पश्चिमा देशहरूले रुसलाई सिध्याउनका लागि युक्रेनको प्रयोग गरिरहेको मस्कोले आरोप लगाउँदै आएको छ।