दायाँबायाँ कुरा नगरी सिधै सदस्यता नवीकरण गर्नुस्ः गोकुल बाँस्कोटा
काठमाडौं— नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेमा रहन मन भएका नेकपा एसका नेता तथा कार्यकर्ताहरूलाई दायाँबायाँ कुरा नगरी सिधै सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् ।
अहिलेको सन्दर्भमा पार्टी एकताको सबैभन्दा सजिलो विधि यो बाहेक अरु नभएको उनको भनाइ छ । एमाले र एसबीच एकता हुने प्रचार चलिरहेका बेला बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
‘समाजवादीका पार्टी सदस्यले लम्बेचौडे कुरै गर्नुपर्दैन । जसलाई एमालेमा रहन मन छ, उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ’, बाँस्कोटाले कटाक्ष गर्दै अगाडि लेखेका छन्, ‘रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चैँ नखोज्नु नि । व्यर्थै कारबाहीमा परिएला है ।’
एमालेबाट अलग्गिएर नेकपा एस दर्ता गर्न निर्वाचन आयोगमा जाँदा झाँक्रीले माधवकुमार नेपालको हात तानेर डोर्याएको तस्वीरले धेरैको ध्यान खिचेको थियो । बाँस्कोटाले सोही प्रसंग अहिले कोट्याएका हुन् ।